मेयर साम्पाङविरुद्ध कानुनी उपचार खाेज्दै उपमेयर बेघा

नेपालभ्युज

मेयर साम्पाङविरुद्ध कानुनी उपचार खाेज्दै उपमेयर बेघा

काठमाडौं । धरान उपमहानगरपालिकाका उपमेयर अईन्द्र बिक्रम बेघाले मेयर  साम्पाङविरुद्ध  कानुनी उपचार खोज्ने बताएका छन्  ।

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले कानुनविपरीत वडाध्यक्षलाई कार्यवाहक मेयरको जिम्मेवारी दिएपछि उपमेयर बेघाले मंगलबार कार्यकक्षमै पत्रकार सम्मेलन गरी यस्तो बताएका हुन्  । मेयर साम्पाङले उपमेयर बेघालाई कार्यवाहक नदिएर वडा नम्बर ११ का अध्यक्ष लोकेन्द्रकुमार फागुलाई कार्यवाहकको जिम्मेवारी दिएपछि  विवाद उत्पन्न भएको हो ।

मेयरको अनुपस्थितिमा उपमेयरलाई कार्यवाहकको जिम्मेवारी दिनुपर्ने कानुनी व्यवस्थाविपरित  मेयर साम्पाङले  वडाध्यक्षलाई कार्यवाहक दिएको उपमेयर बेघाले  पत्रकार सम्मेलनमा बताए । असोज २३ गते मेयर साम्पाङले वडा नम्बर ११ का अध्यक्ष लोकेन्द्रकुमार फागुलाई कार्यवाहकको जिम्मेवारी तोकेका थिए।

‘स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १६ को उपदफा ४ को १ को (क) को १२ नम्बरमा प्रष्ट लेखेको छ- प्रमुख नभएको अवस्थामा उपप्रमुख (उमेयर) लाई र उपमेयर नभएको हकमा मात्रै अन्यलाई कार्यवाहकको अधिकार प्रत्यायोजन गर्ने प्रष्ट कानुनी व्यवस्था छ,’ उपमेयर बेघाले भने, ‘तर उहाँ (मेयर) ले कार्यवाहक दिँदा कुनै धारा, दफा उल्लेख गरिएको छैन। यो सरकार स्थानीय सरकार ऐनले चल्ने भएकोले ऐनका धारा र दफालाई कुल्चेर अघि कानुनी व्यवस्थामाथि प्रश्न गर्छ।’

‘संविधान र कानुनले सबैको क्षेत्राधिकार र काम निर्दिष्ट गरेको छ, प्रमुख, उपप्रमुख, वडाध्यक्ष भनेको जिम्मेवारी हो, यी पदहरूबीच कुनै आग्रह वा पूर्वाग्रह हुन मिल्दैन,’ उनले भने, ‘यसमा व्यक्तिगत ढंगले निर्देशन वा आदेश गर्ने कुरा छैन। नगर प्रमुखले नगरपालिकालाई नै विवादित बनाउने हिसाबले अधिकार प्रत्यायोजन गर्नुभयो, यसले हामीलाई गम्भीर बनाएको छ ।’

मेयर साम्पाङले के आधार र कुन दफाअनुसार कार्यवाहक तोकेको हो प्रष्ट हुनुपर्ने बताए । उनले  यस्ता क्रियाकलापले नगरलाई विवादित बनाउने बताए । ‘व्यक्तिगत इगो वा कुनै कारणले हो भने त्यो गलत हुन्छ, कार्यवाहक जो पनि हुन सक्ला तर प्रक्रिया त पूरा गर्नुपर्‍यो नि!,’ उनले भने, ‘के आधारबाट कार्यवाहक हुने भन्ने कानुनमा लेखेअनुसार त हुनुपर्ला।’

मेयर साम्पाङको निर्णयले धरान उपमहानगरभित्र कानुनी राज्यमाथि गम्भीर प्रश्न उठेको उनको तर्क छ । ‘कानुनले कार्यवाहक मेयर म हो भन्छ,’ उपमेयर बेघाले भने।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved