काठमाडौं । साफ महिला च्याम्पियनसिपको तयारी पूरा भएको छ ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । प्रतियोगिताको सबै तयारी पूरा भएको, ३ टिम आइसकेको र दुई टिम आउन बाँकी रहेको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए ।
प्रतियोगिताको समूह चरणका खेलको टिकटदर साधारण पारापिटतर्फ तीन सय रुपैँया र भीआइपीतर्फ पाँच सय रुपैँया तोकिएको छ ।
नकआउट चरणका खेलहरुको टिकटदर साधारण पारापिटतर्फ पाँच सय रुपैयाँ र भीआईपीतर्फ एक हजार रुपैयाँ कायम गरिएको प्रवक्ता शाहले जानकारी दिए ।
च्याम्पियनसिपमा दक्षिण एसियाका सातै टोली नेपाल, माल्दिभ्स, पाकिस्तान, श्रीलंका, भारत, भुटान र बंगलादेशले सहभागिता जनाउँदैछन् । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।
सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा साविक विजेता बंगलादेशसहित भारत र पाकिस्तान छन् । समूह ‘बी’ मा घरेलु टोली नेपाल, भुटान, श्रीलंका र माल्दिभ्स छन् ।
सातौं संस्करणको साफ महिला च्याम्पियनसिप कात्तिक १ देखि १४ गतेसम्म आयोजना हुनेछ ।
Facebook Comment
Comment