दशैंको दुई दिन बिहीबार र शुक्रबार ६३ हजार भन्दा धेरैले हवाईयात्रा गरे

नेपालभ्युज

दशैंको दुई दिन बिहीबार र शुक्रबार ६३ हजार भन्दा धेरैले हवाईयात्रा गरे
फाइल तस्वीर

काठमाडौं । दशैंको दुई दिन बिहीबार र शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर कुल ६३ हजार दुई सय ४२ जनाले हवाई यात्रा गरेका छन् ।

असोज २४ गते फूलपाती र २५ गते महाअष्टमी र महानवमीमा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैगरी ६३ हजारभन्दा धेरैले हवाई यात्रा गरेका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार असोज २४ गते आन्तरिकतर्फ दुईतर्फी गरेर तीनसय एक उडानमार्फत् १७ हजार तीन सय २९ र असोज २५ गते दुई सय ७८ उडानबाट १४ हजार चार सय ३६ गरी कुल ३१ हजार सात सय ६५ ले आन्तरिक उडानमा हवाई यात्रा गरेका छन् ।

यस्तै अन्तर्राष्ट्रियतर्फ असोज २४ गते दुईतर्फी एक सय सात उडानमार्फत् १६ हजार पाँच सय नौ र असोज २५ गते पनि एक सय सात उडान हुँदा १४ हजार नौ सय ६८ गरी कुल ३१ हजार चार सय ७७ जनाले हवाईयात्रा गरेको विमानस्थल कार्यालयले जनाएको छ । यो उडान र यात्रु सङ्ख्या आगमन र प्रस्थान दुवैको हो ।

त्यसअघि गएको असोज १४ गते एकैदिन आन्तरिक र अन्तर्राष्ट्रिय उडान गरी पाँच सय ५९ उडान भएका थिए । ती उडानमार्फत् ३५ हजार सात सय चार जनाले हवाईयात्रा गरेका थिए । गएको असोज १०, ११ र १२ गतेको अबिरल वर्षाका कारण बाढीरपहिरोले सडक सञ्जाल अवरुद्ध हुँदा हवाई उडानमा चाप भएको थियो । तर अहिले हवाई उडान सामान्य बन्दै गएको विमानस्थल कार्यालयले जनाएको छ ।

-रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved