सोलुखुम्बु । ३ दिनदेखि उडान हुन नसकेको तेन्जिङ हिलारी विमानस्थल लुक्लामा दशैंको टीकाको दिन शनिबार भने ३२ वटा विमानले उडान भरे ।
मौसममा सुधार आएसँगै शनिबार बिहान ६ बजेबाटै विमानहरूले उडान भर्न सुरु गरेका थिए । साँझसम्म उडान भर्ने क्रममा ३२ उडान भएको हो । सबै उडानमा विमान र हेलिकप्टरहरूबाट साढे ६ सय विदेशी पर्यटक खुम्बु क्षेत्र भित्रिए ।
तारा एयरको १० वटा, समिट एयरको १३ वटा र सीता एयरको ९ वटा उडान भएको लुक्ला विमानस्थल प्रमुख उमेश पन्थीले जानकारी दिए ।
त्यस्तै अपराह्न साढे ४ सम्म जम्मा ६१ वटा हेलिकप्टरले विदेशी पर्यटक लुक्ला ल्याएको प्रमुख पन्थीले बताए ।
आज मध्याह्न साढे १२ बजेदेखि भने मौसम प्रतिकूल भएर हेलिकोप्टरबाहेकका अन्य जहाजहरूले भने उडान गर्न सकेनन् । दिउँसोदेखि नै मौसम बिग्रिएकाले उडान अनुमति दिन नसकिएको विमानस्थलले जनाएको छ ।
विमान र हेलिकप्टरहरूबाट साढे ६ सय विदेशी पर्यटक खुम्बु क्षेत्र भित्रिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले बताए ।
हिमाल हेर्न र पदयात्राका लागि उपयुक्त मौसम मानिने शरद ऋतुको मध्य समयमा औसत दैनिक १ सय ५० वटा उडान हुने गर्दथे । मौसम प्रतिकूल भएकै कारण ३ दिनदेखि उडान प्रभावित भएका थिए ।
Facebook Comment
Comment