फूलपातीका दिन काठमाडौंबाट भैरहवा उड्दै निगमको १ सय ५८ सिटे न्यारोबडी

नेपालभ्युज

फूलपातीका दिन काठमाडौंबाट भैरहवा उड्दै निगमको १ सय ५८ सिटे न्यारोबडी

काठमाडौं । आन्तरिक उडानमा परेको यात्रुको चाप घटाउने उद्देश्यले नेपाल वायुसेवा निगमको न्यारोबडी विमानले फूलपातीका दिन काठमाडौंबाट भैरहवा उडान गर्ने भएको छ ।

निगमको न्यारोबडी विमानलाई २४ गते फूलपातीका दिन उडान अनुमति जारी गरिएको प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले बताए ।

न्यारोबडीमा १ सय ५८ सिट क्षमता हुने छ ।

‘यो स्पेशल चार्टर उडान हुनेछ । काठमाडौंबाट ११ बजे उड्ने विमान भैरहवाबाट साढे १२ बजे यात्रु ल्याएर काठमाडौं फर्किने तालिका स्वीकृत भएको छ’ उनले भने ।

आन्तरिक उडानमा यात्रुका लागि न्यारोबडीले पहिलोपटक उडान अनुमति पाएको हो । यसअघि हिमालय एयरलायन्सको न्यरोबडीले काठमाडौं–पोखरा–काठमाडौंमा यात्रु नराखेर टेस्ट फ्लाइट मात्रै गरेको थियो । त्यस्तै निगमको न्यारोबडी र वाइडबडीले भैरहवा–काठमाडौं टेस्ट फ्लाइट र अन्तर्राष्ट्रिय उडान पनि गरिसकेका छन् ।

असोज ११ गतेको भारी वर्षाका कारण भएको बाढी पहिरोले सबै जसो राजमार्ग अवरोध गरेका कारण नेपाल वायुसेवा निगम र हिमालय एयरलायन्सका न्यारोबडी विमान पठाउन सरकारले पहल गरेको पर्यटन राज्यमन्त्री अरुण चौधरीले बताए ।

विपतका बेला बुद्ध, यति र श्री एयरलायन्ससँग भएका दुई दर्जन ७२ सिट हाराहारीका जहाजमा यात्रुले सजिलै टिकट नपाउने अवस्था भएपनि एक दिन न्यारोबढी चलाउन लागिएको हो ।

निजीमा टिकट पाइहाले पनि अधिकतम मूल्यको रहेकाले यात्रु मर्कामा छन् । विराटनगर र धनगढी पनि जहाज पठाउन पहल भइरहेको जनाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved