काठमाडौं । अमेरिकाको ११ दिने भ्रमण सकेर सोमबार (हिजो) स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कड्किए अनि उल्टै प्रतिप्रश्न गरे ।
१० गतेदेखि १२ गतेसम्म भएको लगातारको वर्षाका कारण सृजित बाढी, पहिरो तथा डुबानका कारण देशका नागरिक आहत भइरहेकोबारे गरिएको प्रश्नमा प्रधानमन्त्री ओलीले जस्तो जवाफ दिए, त्यसको चर्को आलोचना भयो ।
संयमित भएर पत्रकारका प्रश्नको सामना गर्नुपर्नेमा प्रधानमन्त्री ओलीले प्रतिप्रश्न गरेर भने— कहाँ-कहाँ पहिरो जान्छ भनेर भनिएको थियो र ? त्यो त गएपछि थाहा हुने करा भो नि !
त्यतिमा मात्रै अडिएनन् प्रधानमन्त्री ओली, राष्ट्रसङ्घ महासभामा सम्बोधनको उपलब्धिबारे प्रश्न गर्दा अनपेक्षित जवाफ दिए, भने— मेरो अमेरिकाको भ्रमण भैंसी दुहेर दूध लिएर आएजस्तो होइन, हाम्रा विचार र समस्याहरू राख्न गएको हो ।
यी दुईवटा सन्दर्भलाई लिएर प्रधानमन्त्री ओलीको धेरै नै आलोचना भयो । सञ्चारमाध्यमले स्टोरी बनाए, विश्लेषण लेखिए, सम्पादकीय छापिए । यसपछि प्रधानमन्त्री ओलीको नागरिक स्तरसम्मै आलोचना भयो कि उनी नागरिकप्रति उत्तरदायी छैनन्, विपत्तिलाई गम्भीर रूपमा लिएनन् ।
हुन पनि प्रधानमन्त्री ओलीले गैरजिम्मेवारपूर्ण जवाफ दिएकै हुन् । भए/गरेका गल्तीको समीक्षा गर्दै अब त्यसबाट बाहिर निस्किनेतर्फ काम गर्ने बताउनुपर्ने प्रधानमन्त्री ओलीले ‘कहाँ-कहाँ पहिरो जान्छ भनेर भनिएको थियो ?’ भनेर प्रतिप्रश्न गर्दा नकारात्मक ‘पोट्रे’ हुनु त स्वाभाविक नै भयो ।
आलोचना भएपछि प्रधानमन्त्री ओलीले मङ्गलबार (आज) पुन: पत्रकार सम्मेलनको आयोजना गरे, जहाँ उनी हदैसम्म नरम सुनिए । न सदा र हिजोजस्तो कड्किए नै, न उत्ताउला र उखान-टुक्कायुक्त जवाफ नै दिए ।
हिजोको आफ्नो अभिव्यक्ति नागरिक; अझ त्यसमा पनि पीडितले मन नपराएको उनले राम्रै महसुस गरे । उनले आफ्नो सचिवालय तथा सल्लाहकारसँग तत् सम्बन्धमा के गर्ने भनेर सल्लाहसमेत गरेका थिए । यसपछि पुन: पत्रकार सम्मेलनको आयोजना गर्ने तय भएको थियो ।
त्यसो त उनले सञ्चारमाध्यमलाई आफ्नो अमेरिका भ्रमणबारे ब्रिफिङ गर्न बाँकी नै थियो । भलै आजको पत्रकार सम्मेलनमा त्यस विषयले प्रवेश नै पाएन । प्रधानमन्त्री ओलीले पत्रकारले जे-जे सोधे, त्यसको सीधा रूपमा जवाफ मात्रै दिए । सदा र हिजोजस्तो बढाइचढाइ र उखान-टुक्का हाली-हाली जवाफ फर्काएनन्, सीधा प्रश्नको सीधा र नम्र जवाफ दिए ।
सोमबार विमानस्थलमा पत्रकारहरूसँग प्रधानमन्त्री केपी शर्मा ओली ।
प्रधानमन्त्री ओलीलाई के लागेको थियो होला भने हिजोको मेरो अभिव्यक्तिका बारेमा पनि प्रश्नहरू तेर्सिन्छन् तर, त्यस्तो भएन । पत्रकारहरूले बरु धितोपत्र बोर्डको अध्यक्षको नियुक्तिबारे प्रश्न गरे तर, उनको हिजोको अभिव्यक्तिलाई लिएर कुनै प्रश्न गरेनन् । यसपछि प्रधानमन्त्री ओलीलाई एक हदसम्म ढुक्कै भयो कि अब मेरो अभिव्यक्तिलाई लिएर थप आलोचना हुँदैन ।
पत्रकारहरूले चाँडै नबन्ने राजमार्गहरूलाई ‘मृत्युमार्ग’ भन्नसमेत भ्याए तर, ओली त्यहाँ पनि रुखो सुनिएनन् । “पत्रकार साथीहरूले राजमार्गलाई मृत्युमार्ग कि के भन्नुभयो तर, त्यस्तो होइन । कहीँ बनाउन ठेकदारहरूले ढिलाइ गरेका छन् । त्यो एकाएक आएर ढिलाइ भएको होइन । यसमा सरकारको ध्यान पुग्नेछ,” उनले भने ।
जे होस्, प्रधानमन्त्री ओली हिजोको तुलनामा हदैसम्म नरम सुनिए । विमानस्थलबाट कड्किएर हिँडेका प्रधानमन्त्री ओलीले बालुवाटार पुग्नासाथ मन्त्रिपरिषद्को बैठक आह्वान गरे र पीडितका लागि १ अर्ब छुटाउने र तीन दिन राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गराए । यसलाई नराम्रो भन्न मिल्दैन तर, अहिलेसम्म उनले सरकारबाट कमजोरी भएको भने स्वीकारेका छैनन् ।
Facebook Comment
Comment