रक्षा खर्चमा ३० प्रतिशतले वृद्धि गर्दै रुस 

नेपालभ्युज

कोलम्बो । युक्रेनमा आफ्नो आक्रामक अभियानलाई वित्तीय सहयोग प्रदान गर्न थप स्रोतहरूको उपयोग गरिरहेको रुसले आगामी वर्ष आफ्नो रक्षा खर्चमा करिब ३० प्रतिशतले वृद्धि गर्ने योजना बनाएको सोमबार प्रकाशित बजेट योजनाको मस्यौदाले देखाएको छ ।

युक्रेनमा आक्रमण गर्न क्षेप्यास्त्र र ड्रोनहरू उत्पादन गरिरहेको र अग्रपङ्क्तिमा लड्ने आफ्ना लाखौँ सैनिकलाई लाभदायक तलब प्रदान गरिरहेको मस्कोले पहिलेदेखि नै आफ्नो सैन्य खर्चलाई सोभियत सङ्घको युगपछि नदेखिएको स्तरमा बढाइसकेको छ ।

संसदीय वेबसाइटमा प्रकाशित दस्तावेजअनुसार खर्चमा पछिल्लो योजनाबद्ध वृद्धिले रुसको रक्षा बजेट सन् २०२५ मा एक सय ३५ खर्ब रुबल (एक खर्ब ४५ अर्ब डलर) को हुनेछ ।

उक्त आँकडामा रुसले ‘आन्तरिक सुरक्षा’ भनेर लेबल लगाएको खर्च र अति गोप्य वर्गीकृत गरिएका खर्च जस्ता सैन्य अभियानका लागि निर्देशित गरिएका केही अन्य स्रोत समावेश छैनन् ।

रक्षा र सुरक्षामा संयुक्त खर्चले रुसको कूल सरकारी खर्चको करिब ४० प्रतिशत हिस्सा ओगट्नेछ । यो सन् २०२५ मा चार सय १५ खर्ब रुबल हुने अनुमान गरिएको छ ।

रुसको संसद्मा मस्यौदा बजेट ठाउनुअघि मस्कोले उच्च सैन्य खर्चका साथै लगानी र सामाजिक कल्याणमा वृद्धिको घोषणा गरेको छ ।

अर्थमन्त्री एन्टोन सिलुआनोभका अनुसार गत मङ्गलबार एक टेलिभिजन सरकारी बैठकमा बजेटको ‘शीर्ष प्राथमिकता’ ‘नागरिकहरूको सामाजिक समर्थन’ हो ।

‘दोस्रो रक्षा र सुरक्षामा खर्चको प्रावधान हो, विशेष सैन्य अभियानका लागि स्रोतहरू प्रदान गर्ने र विशेष सैन्य अभियानमा सहभागिता जनाउने मानिसका परिवारलाई सहायता प्रदान गर्ने हो’, युक्रेनमा आफ्नो आक्रमणका लागि रुसको आधिकारिक भाषा प्रयोग गर्दै उनले भनेका छन्।

यद्यपि आँकडाहरूले सैन्य खर्चले अर्थतन्त्रका अन्य क्षेत्रहरूमा हुने खर्चलाई बाहिर पारेको सङ्केत गरेका छन् । ‘राष्ट्रिय रक्षा’ मा योजनाबद्ध खर्च मस्कोले ‘सामाजिक नीति’ भनेर लेबल गरेका क्षेत्रहरूमा विनियोजन गरिएको रकमको दोब्बरभन्दा बढी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved