प्रभावकारी रूपमा बजार अनुगमन गर्न मन्त्री भण्डारीको निर्देशन

नेपालभ्युज

प्रभावकारी रूपमा बजार अनुगमन गर्न मन्त्री भण्डारीको निर्देशन

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले विपद्जन्य अवस्थाको फाइदा उठाउँदै पर्वको मुखमा महँगी, कालोबजारी र कृत्रिम अभाव सिर्जना हुनसक्नेतर्फ सचेत हुँदै मातहतका निकायलाई कडाइ गरेर प्रभावकारी रूपमा बजार अनुगमन गर्न निर्देशन दिएका छन् ।

उनले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेललाई मन्त्रालयमै डाकेर पछिल्लो विपद्को फाइदा उठाउँदै बजारमा हुने ठगी नियन्त्रणमा निर्मम भएर देशव्यापी रूपमा अनुगमन गर्न निर्देशन दिएका हुन् ।

“बजारबाट हामीलाई पनि विभिन्न माध्यमबाट दिनहुँ महँगी, कालोबजारी र कृत्रिम अभावसम्बन्धी जानकारी प्राप्त भइरहन्छ, ती सूचना पनि यहाँबाट विभागलाई प्राप्त होला, तर विभागले देशभरका मातहतका निकायलाई सक्रिय बनाएर अनुगमनलाई तीव्रता दिनुपर्छ”, मन्त्री भण्डारीले भने ।

साथै उनले मन्त्रालयबाट अनुगमनका लागि विभागलाई गर्नुपर्ने सहयोगमा कमी नहुने बताएका छन् । उनले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्य र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठलाई चाडपर्वलाई लक्षित गरेर सञ्चालनमा ल्याइएका सुपथ मूल्य पसललाई सर्वसुलभ बनाउन निर्देशन दिएका छन् ।

साथै मन्त्री भण्डारीले नेपाल आयल निगमका चण्डिकाप्रसाद भट्टलाई एलपी ग्यासको आवश्यक मौज्दात बढाउन निर्देशन दिएका छन् । यसैबीच, होटेल सङ्घ नेपालले निराधार रूपमा आफूखुसी कुनै सम्झौता नै नगरेको विषयमा प्रचारबाजी गरेकामा मन्त्री भण्डारीको सचिवालयले आपत्ति जनाएको छ ।

“होटेल सङ्घसँग अनुगमन नगर्ने कुनै सहमति भएको छैन, बरु केही होटलहरुले अधिकतम खुद्रा मूल्यभन्दा बढीमा अत्यावश्यक वस्तुको बेचबिखन गरिरहेका सूचना प्राप्त भएका छन्, अनुगमनलाई मन्त्रीज्यूले कडाइ गर्न निर्देशन गरिसक्नुभएको छ”, मन्त्री भण्डारीका स्वकीय सचिव भट्टले भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved