झ्याप्ले खोला घटना: बिहेको दुई महिनामै अस्तायो अनु र प्रकाशको जोडी, रहिनन् बहिनी पनि

केही दिन त्यहाँ बसेपछि प्रकाश र अनुले विवाह दर्ता गराए । त्यसपछि काठमाडौंतर्फ लागे । २८ वर्षीया बहिनी सिर्जना कुँवरसहित । तर, गन्तव्यमा पुग्न नपाउँदै पहिरोमै अस्ताए ।

नेपालभ्युज

झ्याप्ले खोला घटना: बिहेको दुई महिनामै अस्तायो अनु र प्रकाशको जोडी, रहिनन् बहिनी पनि

काठमाडौं । बुटवलका ३७ वर्षीय प्रकाश कुँवर केही दिनपछि कोरिया फर्किने तरखरमा थिए ।

२ महिनाअघि कोरियाबाट स्वदेश फर्केर उनले साउन २७ गते काठमाडौंकी ३४ वर्षीया अनु मल्लसँग बिहे गरेका थिए ।

गुल्मीको मदाने गाउँपालिका पुर्कोटदह पहाड घर भएका उनीहरू विवाहपछि घुम्न उतै पुगेका थिए ।

केही दिन त्यहाँ बसेपछि प्रकाश र अनुले विवाह दर्ता गराए । त्यसपछि उनीहरु काठमाडौंतर्फ लागे । २८ वर्षीया बहिनी सिर्जना कुँवरसहित ।

उनले कोरियाको टिकट काटिसकेका थिए । उनी अक्टोबर १८ मा कोरिया फर्कने तयारीमा थिए । परिवारका अन्य सदस्य काठमाडौंमै रहेकाले भेटघाट गर्ने, दशै‌ं मनाउने र कोरिया फर्किने उद्देश्यले बहिनी र श्रीमतीलाई लिएर प्रकाश शुक्रबार बिहान काठमाडौं हिँडे ।

तर, बिहीबार रातिदेखिको अविरल वर्षा कारण देशभर जताततै बाढी पहिरो गइरहेको थियो । उनीहरु पनि त्यसकै सिकार बने । उनीहरु सवार लु १ ज ४५७८ नम्बरको माइक्रो बस झ्याप्लेखोलामा पहिरोले पुरियो ।

प्रकाशको जीवन त्यहीँ अन्त्य भयो । श्रीमती अनु पनि पहिरोमै बिलाइन । बेलायत जान भाषा पढ्न काठमाडौं लागेकी सिर्जनाको ज्यान पनि पहिरोले लियो ।

सिर्जनाले भारतको बेंग्लोरबाट बीएस्सी नर्सिङ उत्तीर्ण गरेकी थिइन् । भाषा कक्षाको परीक्षा काठमाडौंबाटै दिने गरी दाजुभाउजूसँगै आउँदै थिइन् ।

सो बसमा सवार गुल्मी दरबार गाउँपालिकाको चारपालाका ६३ वर्षीय जुद्धबादुर रायमाझी, उनकी बुहारी २८ वर्षीया प्रमिता रायमाझी र २ वर्षका नाती क्रिस रायमाझीको पनि मृत्यु भएको छ ।

उक्त घटनामा अहिलेसम्म ३५ जनाको मृत्यु भइसकेको छ । अझै केही पुरिएको प्रहरीको आशंका छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved