साल्ट ट्रेडिङ यस्तो ब्रान्ड बनोस् कि नामै काफी होस् : मन्त्री भण्डारी

नेपालभ्युज

साल्ट ट्रेडिङ यस्तो ब्रान्ड बनोस् कि नामै काफी होस् : मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले साल्ट ट्रेडिङ कर्पोरेसन नामै काफी हुने ब्रान्ड बन्नुपर्ने बताएका छन् । कर्पोरेसनको ६२ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले साल्ट ट्रेडिङबाट उपभोग्य वस्तुको अभाव हुन नदिएर यसले जनता र सरकारको विश्वासिलो संस्थाका रूपमा आफूलाई उभ्याउन सक्नुपर्नेमा जोड दिए ।

“साल्ट ट्रेडिङ जनताको विश्वासिलो संस्था बन्न सकोस्, ‘अब दैनिक उपभोग्य वस्तुको अभाव हुँदैन साल्ट ट्रेडिङ मेरो साथमा छ’ भनेर आमजनतालाई विश्वास दिलाउनुपर्छ”, मन्त्री भण्डारीले भने ।

उनले यसका लागि व्यवसाय विस्तारका योजना बनाउन व्यवस्थापन र कर्मचारीलाई निर्देशनसमेत दिए । कर्पोरेसनका अध्यक्ष प्रदीपलाल श्रेष्ठले गुणस्तरीय दैनिक उपभोग्य वस्तु सर्वसुलभ रूपमा जनताको घरदैलोमा पुर्‍याउन क्रियाशील रहेको बताए ।

उनले आगामी दिनमा कर्पोरेसनको सेवा र व्यवसाय थप विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे । कर्पोरेसनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले आमजनताले दैनिक उपभोग गर्ने नुन, चिनी, तेल, चामल, पिठो, दाल, गेडागुडी, खाना पकाउने ग्यासलगायत अत्यावश्यक वस्तुको सहज आपूर्तिको व्यवस्था मिलाइएको जानकारी दिए ।

कार्यक्रममा एक लाख राशिको ‘लक्ष्मीदास मानन्धर बाल हितकारी पुरस्कार’ यस वर्षका लागि मानव कल्याण समाज काभ्रेपलान्चोक तथा माध्यमिक शिक्षा परीक्षा ९एसइई०मा उत्कृष्ट अङ्क ल्याउने कर्मचारीका सन्तति दुई जनालाई छात्रवृत्ति प्रदान गरिएको थियो ।

यस्तै कर्पोरेसनका विभिन्न कार्यालयमा उत्कृष्ट कार्य गर्ने कर्मचारीलाई पुरस्कृतका साथै २० वर्ष सेवा पूरा गरेका कर्मचारीलाई कदर पत्र प्रदान गरिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved