इजरायल-हिजबुल्लाहबीच भीषण लडाइँ, लेबनानमा रहेका नेपाली शान्ति सैनिकको अवस्था कस्तो छ ?

नेपालभ्युज

इजरायल-हिजबुल्लाहबीच भीषण लडाइँ, लेबनानमा रहेका नेपाली शान्ति सैनिकको अवस्था कस्तो छ ?

काठमाडौं । लेबनानमा इजरायल र हिजबुल्लाहबीच जारी भीषण आक्रमणका बीच त्यहाँ तैनाथ नेपाली शान्ति सैनिक हालसम्म सुरक्षित छन् ।

इजरायल र हिजबुल्लाहबीचको रकेट, ड्रोन र मिसाइल हानाहानपछि उत्पन्न तनावपूर्ण परिस्थितिमा पनि नेपाली शान्ति सेना तैनाथ इलाका सामान्य अवस्थामा रहेको नेपाली सेनाले जनाएको छ ।

लेबनानमा तैनाथ ‘युनाइटेड नेसन्स इन्टेरिम फोर्स इन लेबनान’ (युनिफिल) अन्तर्गत ९,५३२ जना शान्ति सैनिकहरूमा करीब ८५० जना नेपाली सैनिक छन् । उनीहरूको मुख्य गण हेडक्वार्टर मेइसेज जाबलमा छ, जहाँबाट अरु ६ स्थानमा शान्ति सैनिक युनिट परिचालन गरिएको छ ।

हिजबुल्लाहले बेरुतमा आफ्नो कमाण्डरको हत्या पछि इजरायलविरुद्ध आक्रामक आक्रमण सुरु गरेको हो । आइतबारमात्र हिजबुल्लाहले उत्तरी इजरायलमा सयौं मिसाइल प्रहार गरेको थियो ।

प्रत्याक्रमणस्वरूप इजरायलले जेट विमानद्वारा दक्षिणी लेबनानमा हिजबुल्लाहको अखडामा निशाना साँधिरहेको छ ।

त्यहाँ परिचालित नेपाली सेनाहरु सुरक्षित छन् । नेपाली सेनाका प्रवक्ता सहायक रथी गौरवकुमार केसीले हिजबुल्लाह र इजरायलबीचको आक्रमणबारे जानकारी पाएपछि नेपाली मिसनसँग नियमित सम्पर्क भइरहेको बताए ।

उनले नेपालभ्युज भने, ‘हालसम्मको अवस्था हेर्दा गण हेडक्वार्टर तथा मातहत इलाकाको अवस्था जोखिममुक्त देखिन्छ ।’ यद्यपि, स्थिति गम्भीर बन्ने सम्भावनालाई ध्यानमा राख्दै युनिफिल मिसन हेडक्वार्टरले उच्च सतर्कता अपनाउन आदेश दिएको छ ।

लेबनानमा सन् १९५८ देखि नेपाली शान्ति सेना खटिँदै आएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved