प्रशिक्षार्थी चिकित्सकको हत्याले भारतमा हङ्गामा, यस्तो छ प्रहरी र राज्य सरकारमाथि अविश्वासको कारण

१५ मिनेटको दूरीमा रहेको रेड लाइट एरियाबाट केटी ल्याउने र अश्लील चलचित्र बनाएर रकम कमाउने गिरोह अस्पतालमा प्रभावशाली रहेको आरोप समेत लाग्ने गरेको छ ।  

नेपालभ्युज

प्रशिक्षार्थी चिकित्सकको हत्याले भारतमा हङ्गामा, यस्तो छ प्रहरी र राज्य सरकारमाथि अविश्वासको कारण

काठमाडौं । भारतको कोलकाताको एक अस्पतालमा प्रशिक्षार्थी महिला चिकित्सकको बलात्कारपछि भएको हत्याले भारत तरङ्गित छ । भारतका चिकित्सकले राष्ट्रव्यापी हड्ताल गरेका छन् ।

पश्चिमबङ्गाल राज्यको राजधानी कोलकाता तथा अन्य शहरमा विरोध प्रदर्शन पनि जारी छ । भारतीय चिकित्सा सङ्घले न्यायको लागि गरिएको सङ्घर्षमा सहयोग माग गरेको छ ।

चिकित्सकले शनिबार सुरु गरेको प्रदर्शन २४ घण्टापश्चात् आइतबार बिहान ६ बजे टुङ्गाएका छन् । जुनियर चिकित्सकले भने प्रदर्शनलाई निरन्तरता दिइरहेका छन् ।

चिकित्सकले मैनबत्ती र्‍याली, प्रदर्शनका साथै स्वास्थ्य सेवा ठप्प गरेका थिए । अस्पताल र क्लिनिकमा इमर्जेन्सीबाहेक सबै सेवा ठप्प गरिएका छन् ।

घटना विवरण 

कोलकातास्थित आरजी कर मेडिकल कलेजमा कार्यरत ३१ वर्षीया प्रशिक्षार्थी चिकित्सकमाथि अगस्ट ९ शुक्रबार बलात्कार र हत्या भएको थियो।

आर जी कर मेडिकल कलेज र अस्पतालमा लगातारको ३६ घण्टा लामो अध्ययन तथा ड्यूटी समयपश्चात् चिकित्सक कलेजको सेमिनार कोठाको प्लेटर्ममा निइन् । जहाँ उनको बलात्कार र हत्या भएको थियो ।

बिहान सेमिनार कोठामा पुगेका इन्टर्नर र उनका ट्रेनी सहपाठीले शरीर रगतले लत्पतिएको अवस्थामा भेटाएका थिए । उनको ल्यापटप, नोटबूक र फोन उनको छेउमै थियो ।

३१ वर्षीया डक्टरको अर्धनग्न शरीरमा चोटपटक लागेको थियो । पोष्टमार्टम रिर्पोटमा उनको बलात्कार भएको पुष्टि भएको छ । सोही दिन अस्पतालमा कार्यरत नागरिक स्वयम् सेवक, सन्जय रोईलाई प्रहरीले पक्राउ गर्‍यो ।

प्रहरीले रोईले एक्लै हत्या र बलात्कार गरेको दाबी गरेको छ । तर, घटनामा अन्यको पनि संलग्नता भएको भन्दै प्रदर्शनकारीले निष्पक्ष छानबिनको माग गरेका छन् ।

प्रदर्शनमा बसेकामाथि एक अज्ञात समूहले अस्पतालमै पुगेर आक्रमण गरेको थियो । उक्त समूहले अस्पतालमा तोडफोडसमेत गरेको थियो । यसले पनि आशंका बढाएको छ । हालसम्म यो घटनामा २५ जनालाई पक्राउ गरिएको कोलकाता प्रहरीले जनाएको छ ।

साउन ३० गते कोलकाता उच्च अदालतले छानबिनको जिम्मा केन्द्रीय अनुसन्धान ब्यूरो सीबीआईलाई दिएको छ । तर, आन्दोलन भने रोकिएको छैन ।

प्रहरी र राज्य सरकारमाथि अविश्वासको कारण

सोही अस्पतालमा २३ वर्ष अगाडि एक व्यक्तिको रहस्यमय रूपमा मृत्यु भएको थियो । परिवारले उनको हत्या भएको भन्दै छानबिनको माग गरे पनि प्रहरीले आत्महत्या भनेको थियो ।

२००१ अगस्त १ तारिखमा उक्त अस्पतालको होस्टलमा रहने स्वामीत्र विश्वास झुन्डिएको अवस्थामा फेला परेका थिए ।

आफन्तले अस्पतालमा अश्लील फिल्मको निर्माण हुने गरेको र विश्वासले उक्त र्‍याकेटको भण्डाफोर गर्ने बताएकाले हत्या गरिएको भन्दै अदालतमा उजुरी हालेका थिए ।

अदालतले त्यसको जाँच गर्ने जिम्मा सीआइडीलाई दिएको थियो । तर, सीआइडीले अहिलेसम्म त्यसको जाँच पूरा गरेको छैन ।

महिला चिकित्सकको हत्यामा पनि यस्तै हुन सक्ने भन्दै नागरिक सडकमा निस्केका हुन् । उक्त अस्पतालमा सत्तारुढ त्रिणमुल कांग्रेसको वर्चस्व छ ।

विश्वासको मृत्युका बेला त्यहाँ वाम दलको दबदबा थियो । अस्पतालमा अश्लील फिल्म बनाउने गिरोह लामो समयदेखि सक्रिय रहेको आरोप लाग्दै आएको छ ।

१५ मिनेटको दूरीमा रहेको रेड लाइट एरियाबाट केटी ल्याउने र अश्लील चलचित्र बनाएर रकम कमाउने गिरोह अस्पतालमा प्रभावशाली रहेको आरोपसमेत लाग्ने गरेको छ ।

ती प्रशिक्षार्थी चिकित्सकको हत्या भएको हलमा सीसीटिभी समेत नहुनु, पोष्टमार्टम रिपोर्टमा उनको बीभत्स तरिकाले हत्या भएको पाइनु, प्रहरीले एकजना मात्रै संलग्न भएको बताउनु जस्ता विभिन्न कारणले घटनालाई शंकास्पद बनाएको छ ।

त्यहीकारण भारतभर आन्दोलन चर्किएको हो । सीबीआईको छानबिनमा पनि राज्यको प्रहरी र अस्पतालको नेतृत्वले पूर्ण रुपमा सहयोग नगरेको कतिपय सञ्चारमाध्यमले दाबी गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved