काठमाडौं । बंगलादेशमा डा. मोहम्मद युनुस नेतृत्वको अन्तरिम सरकारको मन्त्रिपरिषद्को पहिलो बैठक बसेको छ। आइतबार बसेको बैठकले विभिन्न निर्णय गरेको छ । बैठकमा १६ सदस्य सहभागी थिए ।
मन्त्री फारुक-ए-आजम भने अमेरिकामा छन् । उनले शपथसमेत लिएका छैनन् । उनी स्वदेश फर्किने तयारी भइरहेको द डेली स्टारले जनाएको छ ।
मन्त्रिपरिषद् बैठकले विद्यार्थी आन्दोलनमा घाइते भएकाको उपचारदेखि बन्द भएका रेल सेवाहरु सञ्चालन गर्ने निर्णय गरेको छ ।
यस्ता छन् निर्णयहरु-
- विद्यार्थी आन्दोलनका क्रममा घाइते भएकाको उपचार खर्च सरकारले व्यहोर्ने । त्यसका लागि चाँडै घाइते भएकाहरूको सूची तय गर्ने ।
- आन्दोलनमा प्रहरीको गोली लागेर या भिड परेर मारिएकाहरूका परिवारलाई सहायता दिने ।
- पूर्वप्रधानमन्त्री शेख हसिना नेतृत्वको सरकारले करारमा गरेका नियुक्ति खारेज गर्ने ।
- बंगलादेश बैंकका गभर्नर र धितोपत्र तथा विनिमय आयोगका प्रमुखको राजीनामा स्वीकृत । साथै, रिक्त स्थानमा पदपूर्तिका लागि सिफारिस समिति गठन ।
- अल्पसंख्यक जाति तथा धर्मावलम्बीहरूमाथि भएको आक्रमणप्रति तुरुन्त प्रतिनिधि निकाय र अन्य सम्बन्धित समूहसँग बसेर समाधानका उपायहरू खोज्ने ।
- युनाइटेड अबर इमिरेट्समा प्रदर्शनका क्रममा पक्राउ परेका र सजाय सुनाइएका ५७ बंगलादेशी नागरिकहरुलाई रिहा गर्नका लागि अन्तरिम सरकारले पहल गर्ने ।
- र, जुलाई १८ देखि बन्द रहेको ढाका एक्सप्रेस मेट्रो रेल सञ्चालन गर्ने, काजीपारा र मिरपुरका क्षतिग्रस्त स्टेशन मर्मत भएपछि नियमित चलाइने ।
Facebook Comment
Comment