दुईदिने सिरिजङ्गा लिपि प्रशिक्षण कार्यक्रम सम्पन्न, राईद्वय भावी प्रशिक्षक प्रस्तावित

नेपालभ्युज

दुईदिने सिरिजङ्गा लिपि प्रशिक्षण कार्यक्रम सम्पन्न, राईद्वय भावी प्रशिक्षक प्रस्तावित
दुईदिने सिरिजङ्गा लिपि प्रशिक्षणपछि प्रशिक्षक तथा प्रशिक्षार्थीहरू । तस्वीर : नेपालभ्युज ।

काठमाडौं । ‘दुईदिने किरात सिरिजङ्गा लिपि प्रशिक्षण’ कार्यक्रम सम्पन्न भएको छ । थुलुङ राई संस्कृति प्रतिष्ठान, यलाखोम समितिद्वारा काठमाडौंमा आयोजित लिपि प्रशिक्षण शुक्रबार सुरु भएर शनिवार सकिएको थियो ।

प्रशिक्षण कार्यक्रममा ३५ भन्दा बढी प्रशिक्षार्थी सहभागी थिए । प्रशिक्षणपछि प्रशिक्षार्थीले प्रमाणपत्रसमेत प्राप्त गरेका छन् । प्रशिक्षकको भूमिकामा तीर्थराज मुकारुङ राई र गणेश वाम्बुले राई थिए ।

प्रशिक्षणपछि प्रशिक्षार्थीहरू हर्षित भएका छन् । आफूहरूले महत्त्वपूर्ण ज्ञान हासिल गरेको उल्लेख गर्दै  प्रशिक्षार्थी युजन राईले भने, “सिरिजङ्गा लिपिको सन्दर्भमा म बच्चा छु । मैले हुर्किनु छ । बढ्नु छ र समुदाय धान्नु पनि छ । यसलाई निरन्तरता दिनेछु ।”

प्रशिक्षक गणेश वाम्बुले राईले आफूहरूले किरात राई यायोक्खाको संस्थागत प्रतिनिधित्व गर्दै प्रशिक्षणकका रूपमा आएको उल्लेख गरे । “चासो लिनु नै ठूलो कुरा हो । तपाईंहरू जो जहाँबाट आउनुभयो र जसरी सिक्नुभयो । यसको थप व्यापकता बढाउनेमा तपाईंहरूको पनि ठूलो हात रहन्छ । यसमा तपाईं-हामी सँगसँगै रहनुपर्छ । यसलाई समुदायस्तरसम्म पुर्‍याउने जिम्मा हामी सबैको हो,” प्रशिक्षक राईले भने ।

यस्तै आयोजक संस्थाका सल्लाहकारसमेत रहेका थुलुङ दुधकोशी गाउँपालिका वडा नं. ९ लोखिमका  पूर्वअध्यक्ष भूपालसिं राईले कार्यक्रम आयोजनाका लागि संस्थालाई धन्यवाद दिँदै भावी दिनमा यस्ता कार्यक्रमलाई तीव्रता दिनुपर्ने बताए ।

आयोजक संस्थाका संस्थापक अध्यक्ष एवम् सांस्कृतिक अभियन्ता निर्कुधन राईले समुदायमा सिरिजङ्गा लिपिको व्यापकता र प्रभावकारिता बढ्नुपर्ने र त्यसकै लागि संस्थाले एउटा प्रयास गरेको बताए ।

“किरात राईहरूले नेतृत्व गरिरहेको प्रत्येक स्थानीय सरकार र किरात राईहरूको सघन बसोबास रहेको क्षेत्रमा सिरिजङ्गा लिपि लिपिबद्ध हुनुपर्छ  । कम्तीमा स्थानीय सरकारले चलाउने लेट्टरहेडमा लिपिको प्रयोग हुनुपर्छ,” उनले भने, “यो सबैको प्रयासबाट सफल हुन्छ ।”

यस्तै आयोजक संस्थाकी अध्यक्ष संगिता राईले कार्यक्रमले उपादेयता पुष्टि गरेको उल्लेख गर्दै खुसी व्यक्त गरिन् । प्रशिक्षक तथा प्रशिक्षार्थीलाई धन्यवाद दिँदै उनले भनिन्, “जे सिकेका छौँ, त्यसलाई निरन्तर प्रयोगमार्फत अगाडि लाने प्रतिबद्धता गरिनुपर्छ ।”

यसैबीच सहभागीमध्येबाट संगिता राई (जुनकीरी) र नरबहादुर राईलाई भावी सिरिजङ्गा लिपि प्रशिक्षकका रूपमा अघि सारिएको छ । विभिन्न सङ्घसंस्था तथा समुदायका सदस्यहरूलाई भावी दिनमा उनीहरूले प्रशिक्षण गराउने थुलुङ राई संस्कृति प्रतिष्ठानले जनाएको छ ।

किरात सिरिजङ्गा लिपिका सन्दर्भमा संस्थागत निर्णय गर्दै चार किरातहरू यसलाई आधिकारिक तथा साझा लिपिका रूपमा अघि बढाउन सहमत भएसँगै यसमाथि प्रशिक्षण तथा प्रयोग प्रारम्भ भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved