मलाई अभद्र व्यवहार गर्नेमाथि कारबाही होस् : सांसद सोबिता गौतम

नेपालभ्युज

मलाई अभद्र व्यवहार गर्नेमाथि कारबाही होस् : सांसद सोबिता गौतम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले आफूलाई निर्वाचन क्षेत्रमा अभद्र व्यवहार भएको भन्दै दोषीमाथि कारबाही गर्न माग गरेकी छन् ।

उनले प्रतिनिधिसभाको सोमबारको बैठकमा उनले काठमाडौँ–२ को कागेश्वरी मनोहरा नगरपालिकामा केही युवाले अभद्र व्यवहार गरेको बताइन् ।

उनले आइतबार बाढी पहिरो प्रभावित क्षेत्र कागेश्वरी मनोहरा–६ को मनोकामना टोलमा मादक पदार्थ सेवन गरेका १५–१० जना युवाले आफूलाई घेरेर प्रश्न गरेको बताइन् ।

उनले भनिन्, ‘चक्रव्यूहजस्तो गरेर जथाभाबी बोलेर मलाई घेर्न काम भयो। तैँले निर्वाचन क्षेत्रमा के गरिस् भनेर फोहोरी शब्द बोले ।’

गौतमका अनुसार ती युवा गाँजा र रक्सीको नसामा थिए । उनले भनिन्, ‘ती युवा ममाथि दुर्व्यवहार गर्ने शैलीमा त्यहाँ प्रस्तुत भएका थिए ।’ तीमध्ये एक युवा कुनै एउटा राष्ट्रिय दलको युवा सङ्गठनको महत्त्वपूर्ण जिम्मेवारीमा रहेको दाबी गौतमको छ ।

उनले भनिन्, ‘बाटो ढुकेर चौतारीमा कुरेर छोरी मान्छेलाई तर्साउने अभ्यास के अमर्यादित भएन र ? के यो जङ्गली प्रकारको व्यवहार भएन र?सरकारले सुरक्षा चुनौतीका बारेमा सोच्ने कि नसोच्ने?’

अब आफू निर्वाचन क्षेत्रमा जाँदा कहाँकहाँ चौतारो छ, कहाँकहाँ खाली ठाउँ छ भनेर डराउनुपर्ने अवस्था आएको उनले बताइन् ।

सांसद गौतम र केही युवाबीच विवाद भएको भिडिओ क्लिप सामाजिक सञ्जालमा भाइरल छ । भिडिओमा भने दुर्व्यवहार भएको देखिँदैन । तर सांसद् गौतमको सचिवालयका अनुसार त्यो भिडिओमा विवाद भएको अन्त्यतिरको मात्रैको हो ।

सचिवालय प्रमुख प्रकृति न्यौपानेले भनिन्,

‘‘कागेश्वरी मनोहरामा बाढी पहिरो गएको थियो । शंकरापुरामा गएर आएपछि मूलपानीमा मनकामना टोलमा आयौँ । टोल सुधार समितिको मान्छेहरू पर्खिरहेको थिए । त्यहाँ पहरो गएको रहेछ । पहिरोमा केहीबेर अलमलियौँ । सार्वजनिक भवन भएको ठाउँमा हेर्‍यौ । फर्किँदाखेर ६ बजिसकेको थियो । फर्कँदा बाटोमा केही युवाको झुन्ड भेटियो । ‘तपाईँहरू बुढो मान्छे चोरफटाहाले बोलाउँदा मात्र आउनुहुन्छ, युवाहरूले आउँदा आउनुहुन्न भन्नुभयो । माननीयज्यूले ‘के छ युवा साथीहरू ल भन्नुस् न भन्नुभयो । तर उहाँहरूले वरिपरि घेरेर होहल्ला गरेर हैरान बनाउनुभयो । तथानाम बोल्न सुरु गर्नुभयो । माननीयज्यू र म मात्र थियौँ । ‘मिठो भाषामा बोल्नुस् न’ भन्दा खेर हामीमाथि एटेक गर्न आउन लाग्नुभयो । त्यसपछि हामी हिँड्यौँ । भिडिओको अगाडिको कुरा काटेर पोस्ट गर्नुभएको रहेछ । पछाडिको मात्रै भिडिओ पोस्ट गर्नुभयो ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved