काठमाडौं । काभा महिला भलिबल नेसन्स लिगमा आइतबार आज नेपाल र इरान भिड्दैछन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने खेल साँझ सवा ५ बजे हुनेछ ।
लिगमा अपराजित रहेको नेपाल सोही लयलाई निरन्तरता दिने उच्च लक्ष्यसहित मैदान उत्रने छ । शनिबार भएको लिग चरणको आफ्नो दोस्रो खेलमा भारतमाथि ऐतिहासिक जित निकालेको नेपाली महिला टोली उच्च मनोबलमा छ ।
इरान पनि घरेलु टोली नेपाललाई स्तब्ध पार्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लन चाहन्छ ।
लिगमा २ खेलबाट ५ अंक जोडेको नेपाल दोस्रो स्थानमा छ । एक खेल बढी खेलेको इरान ५ अंकसहित तेस्रो स्थानमा छ । समान ३ खेल खेलेको भारत ७ अंकमा तालिकाको शीर्ष स्थानमा छ ।
२ खेलबाट १ अंक बनाएको श्रीलंका चौथो र त्यति नै खेलबाट अंक विहिन मालदिभ्स भने अंक तालिकाको पुछारमा छ ।
नेपालले लिग चरणको पहिलो खेलमा श्रीलंकालाई सोझो सेटमा पाखा लगाएको थियो । दोस्रो खेलमा हिजो भारतलाई ३–१ को सेटमा हराएको थियो ।
इरानले पनि हिजै भएकोे खेलमा मालदिभ्सलाई सोझो सेटमा हराएको थियो । श्रीलंकामाथि ३–२ को सेटमा जित निकालेको इरान भारतविरुद्ध भने ३–१ को सेटमा पराजित भएको थियो ।
आजको पहिलोे खेलमा श्रीलंका र मालदिभ्स खेल्दैछन् । सो खेल दिउँसो ३ बजे हुनेछ । मालदिभ्स र श्रीलंका दुवै टोली पहिलो जितको खोजीमा छन् ।
Facebook Comment
Comment