इजरायललाई इरानको आक्रमणबाट बचाउन अमेरिकाले लडाकु विमान तैनाथ गर्ने

नेपालभ्युज

इजरायललाई इरानको आक्रमणबाट बचाउन अमेरिकाले लडाकु विमान तैनाथ गर्ने

काठमाडौं । पेन्टागनले इरान र उसका सहयोगीहरूको आक्रमणबाट इजरायललाई बचाउन मध्यपूर्वमा थप लडाकु विमान तैनाथ गर्ने बताएको छ ।

इरानमा हमासका शीर्ष नेता इस्माइल हानिया र हिजबुल्लाह कमाण्डरको हत्यापछि यस क्षेत्रमा तनाव बढेको छ ।

पेन्टागनले क्षेप्यास्त्र सुरक्षा बललाई तयार राखिएको जनाएको छ । पेन्टागनले इजरायलको रक्षा गर्न आफ्नो प्रतिबद्धता बलियो रहेको बताएको छ ।

इस्माइल हानियाको हत्यापछि इरानका सर्वोच्च नेता अयातुल्लाह खामेनीले इजरायललाई पाठ सिकाउने वाचा गर्दै तीन दिनको राष्ट्रिय शोकको घोषणा गरेका छन् ।

तेहरानमा बुधबार हमास नेता हानिया मारिएका थिए । इरान र गाजाका उसका सहयोगीहरूले यसका लागि इजरायललाई जिम्मेवार ठहराएका छन् । इजरायलले यसबारे कुनै प्रतिक्रिया दिएको छैन ।

६२ वर्षीय हानियालाई हमासको शीर्ष नेता मानिन्थ्यो । गाजामा युद्धविराम सम्बन्धी वार्तामा उनले महत्त्वपूर्ण भूमिका खेलेका थिए । हानियाको मृत्युको खबर इजरायलले लेबनानमा हिजबुल्लाह कमाण्डर मारेको दाबी गरेको केही घण्टापछि आएको हो ।

पेन्टागनले एक विज्ञप्ती जारी गर्दै यो नयाँ तैनाथीले अमेरिकी सेनाको सुरक्षा बढाउने, इजरायलको रक्षामा सहयोग बढाउने र अमेरिका बदला लिन तयार रहेको सुनिश्चित गर्ने बताएको छ ।

अप्रिलमा इरानले इजरायलमा ड्रोन आक्रमण गरेपछि अमेरिकाले पनि तैनाथी बढाएको थियो । इजरायल र उसका सहयोगीहरूले करिब तीन सय ड्रोन खसालेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved