काठमाडौं । माइम आर्ट पढिरहेका इटालीका कम्युनिस्ट विद्यार्थी, बलमा अर्जुनदृष्टि लगाउने एक प्रतिभाशाली बालक र एक जना हाँस्य कलाकारमा के समानता हुन सक्छ ? यी तीनै जनापछि गएर एउटा निकै खास समूहको हिस्सा बने ।
हामी मिउचिया प्राडा, टाइगर वुड्स र जेरी सेनफिल्डको कुराकानी गरिरहेका छौं । यी तीनै जना अहिले विश्वका २८०० अर्बपतिको सूचीमा परेका छन् । यो सूचीमा विश्वभरका अलग–अलग देशका मानिस छन् ।
विश्वभरका धनाढ्यको सूची तयार गर्ने अमेरिकी सञ्चार गृह फोर्ब्सका अनुसार अर्बपतिको सङ्ख्यामा अमेरिका पहिलो स्थानमा छ । सूचीमा ८१३ अमेरिकी अर्बपति छन् ।
हङकङसहित चीन दोस्रो स्थानमा छ । यहाँका ४७३ अर्बपति परेका छन् । २०० जना अर्बपतिसहित भारत यो सूचीमा तेस्रो स्थानमा छ । यो सूचीमा परेका व्यक्तिहरूको अर्बौंको सम्पत्तिबारे अनुमान गर्न गाह्रो छ ।
एक अर्ब भनेको सानो अङ्क होइन । १० लाख सेकेन्ड बराबर ११ दिन हुन्छ भने एक अर्ब ३२ वर्ष बराबर हुन्छ ।
८१ जनाको हातमा चार अर्ब मानिसभन्दा धेरै सम्पत्ति
केही मानिस अर्बपतिहरूको अस्तित्वलाई ठिक मान्दैनन् । विश्वका ८१ जना धनाढ्यसँग विश्वका चार अर्ब मानिसको तुलनामा धेरै सम्पत्ति छ ।
असमानताबारे सन् २०२३ मा अक्सफामले सार्वजनिक गरेको एउटा प्रतिवेदनमा भनिएको थियो, ‘हरेक अर्बपति नीतिगत गल्तीको परिणाम हो । बढ्दो गरिबी र बाँच्नका लागि आवश्यक स्रोत तथा संसाधनको सङ्कटका बिचमा कीर्तिमानी नाफाको साथमा फस्टाउँदै गइरहेका अर्बपति हुनु भनेको एउटा यस्तो आर्थिक व्यवस्थाको प्रमाण हो, जो मानवताका लागि काम गर्न असफल भएको छ ।’
यही असमानताका कारण धेरै देशमा आम्दानीमा करको सट्टा सम्पूर्ण सम्पत्तिमा कर लगाउने कुरा उठिरहेको छ ।
अमेरिकामा डेमोक्रेटिक पार्टीका सिनेटर एलिजाबेथ वारेनले ५ करोड डलरको सम्पत्तिमा दुई प्रतिशत र १ अर्ब डलरको सम्पत्तिमा तीन प्रतिशत कर लगाउने प्रस्ताव गरेकी छन् ।
तर, अन्य केहीले भने धेरै धनसम्पत्तिको सम्भावनाले लाखौँ मानिसको जीवनमा सुधार गर्ने नयाँ सिर्जना र आविष्कारहरूलाई प्रोत्साहन दिने तर्क दिइरहेका छन् ।
अर्बपति सङ्ख्या बढाउन चाहन्छन् अर्थशास्त्री
‘हामीलाई कम होइन, अझ धेरै अर्बपति चाहिन्छ,’ अमेरिकी अर्थशास्त्री माइकल स्ट्रेनको तर्क छ । उनले नोबेल पुरस्कार विजेता विलियम नर्डहसको सिद्धान्त उद्धृत पनि गरेका थिए ।
यस सिद्धान्तमा नर्डहसले प्राविधिक आविष्कारबाट हुने नाफाको दुई प्रतिशतमात्र संस्थापक र आविष्कारकलाई जान्छ, बाँकी समाजमा जान्छ भनेका थिए ।
नीतिको असफलताका कारणमात्रै सबैजना अर्बपति बनेका छैनन्, बरू आफ्नै नवीनता र मेहनतले यो स्थानमा पुगेको तर्क स्ट्रेनको छ । ‘उनीहरू अर्बपति नबनुन् भनेर कामना गर्नुको सट्टा हामी उनीहरूको सफलतामा खुसी हुनुपर्छ,’ अमेरिकी अर्थशास्त्री माइकल स्ट्रेन भन्छन् ।
अर्बपतिहरू स्वनिर्मित आविष्कारक भएको अनि उनीहरूले जीवन जीउने तरिका बदल्ने पनि उनले बताए । यसमा उनले बिल गेट्स र स्टिभ बाल्मरको उदाहरण दिएका थिए ।
यी दुवै जनाले ‘कम्प्युटिङ’को संसारमा क्रान्तिकारी परिवर्तन ल्याएका थिए । उनले चर्चित अमेरिकी लगानीकर्ता वारेन बफेट, जेफ बेजोस र एलन मस्कको पनि उदाहरण दिए ।
बफेट र बेजोसले खुद्रा विक्रीको क्षेत्रलाई प्रवर्द्धन गरेका थिए भने एलन मस्कले अटोमोटिभ उद्योग र अन्तरिक्ष व्यवसायमा क्रान्ति ल्याएका थिए ।
नीतिको असफलताका कारणमात्रै सबैजना अर्बपति बनेका छैनन्, बरू आफ्नै नवीनता र मेहनतले यो स्थानमा पुगेको तर्क स्ट्रेनको छ । ‘उनीहरू अर्बपति नबनुन् भनेर कामना गर्नुको सट्टा हामी उनीहरूको सफलतामा खुसी हुनुपर्छ,’ उनले भने ।
कयौं अर्बपतिले ठूलो रकम दान पनि गरिरहेका छन् । गेट्स र बफेटले द गिभिङ प्लेजको पहल गरेका छन् । यसअन्तर्गत उनीहरूले आफ्नो जीवनकालमा आधाभन्दा बढी सम्पत्ति दान गर्ने प्रतिबद्धता जनाएका छन् ।
कसरी बन्छन् अर्बपति ?
मानिसहरू यत्तिकै अर्बपछि बन्दैनन् । उनीहरूको सफलताले हामीलाई हाम्रोबारे पनि कयौं कुरा भन्छ । जुन अर्बपतिको चर्चा गरिन्छ, उनीहरूले कम वा बढी कुनै न कुनै रूपमा संसारलाई बदलेका छन् ।
चाहे त्यो प्राडा उत्पादन होस् वा स्टार वार्स सिनेमा होस् वा टिकटक नै किन नहोस् । अर्बपति बन्दासम्मको उनीहरूको यात्रा र दुःखका कथा पनि रोचक हुन्छन् ।
सुरुमा गुगल सर्च इञ्जिनलाई यसका संस्थापकले १० लाख डलरमा बेच्न खोजेका थिए । तर त्यतिबेला यसका लागि कोही क्रेता पाइएन । अहिले गुगलको मूल्य २३ खर्ब डलर पुगेको छ भने यसको सह–संस्थापक सर्गी ब्रिनको नेटवर्थ १ खर्ब ३५ अर्ब डलर भएको छ । यो भनेको मोरक्कोजस्ता देशको जीडीपी बराबर हो ।
मिउचिया प्राडा सन् १९६० को दशकमा इटलीमा एक वामपन्थी ‘मारिया बियान्ची’ भनेर चिनिन्थिन् । यिनले आफ्नो नाम मारिया बियान्चीबाट फेरेर मिउसिया प्राडा राख्नु अघि थिएटर स्कूलमा माइम कला पढ्दै थिइन् । माइम कला मौन अभिनयको एउटा शैली हो । यसमा अनुहारको हाउभाउ र इशाराहरू मार्फतमात्र व्यक्त गर्न खोजेको कुरा सम्झाउने कोसिस गरिन्छ ।
अमेरिकी हाँस्य कलाकार र अभिनेता जेरी सेनफिल्डका आमाबुवा दुवै अनाथ थिए । उनका बुबाले जेरीलाई कहिल्यै अँगालो हालेनन् ।
सायद यही कारणले गर्दा ल्यारी डेभिडले आफ्नो हिट कमेडी सेनफिल्डमा – नो हगिङ र नो लर्निङ भन्ने लाइन राखेका थिए । यी अर्बपतिहरूको सफलताले प्रायः व्यापक ऐतिहासिक, राजनीतिक र प्राविधिक प्रवृत्तिहरूको कथा पनि बताउँछ ।
अलिबाबाका सह–संस्थापक ज्याक मालाई पनि एकैसाथ उदीयमान दुई शक्तिबाट फाइदा भयो । त्यतिबेला अनलाइन खुद्रा विक्रीले गति लिइरहेको थियो भने अर्कोतिर चीन बलियो अर्थतन्त्रका रूपमा उदाइरहेको थियो । त्यहाँका जनताको समृद्धि बढिरहेको थियो ।
सफलतामा धेरै सरोकारवाला
त्यस्ता कथाहरू पनि छन्, जहाँ भाग्यले सबैभन्दा ठूलो भूमिका खेलेको छ । १९६० को दशकको उत्तरार्धमा, माइक्रोसफ्टका संस्थापक बिल गेट्स अमेरिकामा कम्प्युटरहरू भएका केही विद्यालयहरू मध्ये एकमा जाने गर्थे ।
त्यस्तै, रिहानाले एक रेकर्ड निर्माता बार्बाडोसमा छुट्टीमा हुँदा अडिसन गर्ने मौका पाएकी थिइन् । केही व्यक्तिहरूको लागि परिवार सबैभन्दा सहयोगी साबित भए ।
प्रसिद्ध गायिका टेलर स्विफ्टको सम्पूर्ण परिवार आफ्नो छोरीको करियरलाई अगाडि बढाउन पेन्सिलभेनियाबाट न्यासभिल गए ।
अमेरिकी बास्केटबल खेलाडी माइकल जोर्डनकी आमाले उनलाई एडिडास वा कन्भर्सजस्ता खेलकुद कम्पनीहरूसँग कुनै पनि सम्झौता गर्नुअघि ‘नाइकी’ को कुरा सुन्न सल्लाह दिएकी थिइन् । पछि यो सम्झौता खेलकुद इतिहासमा सबैभन्दा ठूलो सम्झौता साबित भयो ।
निस्सन्देह, यी कथाहरूमा केही क्षणहरू छन् जसमा साना घटनाहरूले यी अर्बपतिहरूको जीवन र भाग्यलाई परिवर्तन गर्यो । तर, जब अवसरको ढोका खुल्छ, तपाईंले सबै कुरा दिमागमा राखेर हिँड्नुपर्छ ।
र, यदि ती सबैमा एउटै कुरा समान छ, त्यो हो ऊर्जा, प्रेरणा र प्रतिबद्धता । जुन यस्ता व्यक्तिहरूले आ–आफ्नो क्षेत्रमा ल्याएका छन् । अनि उनीहरू जहिले अगाडि बढ्ने चाहना राख्छन् । –बीबीसी हिन्दीबाट
Facebook Comment
Comment