काठमाडौं । केही युट्यूबरहरूलाई साथमा लिएर देशका प्रधानमन्त्री-मन्त्रीदेखि मूलधार सञ्चारमाध्यमलाई गाली गर्दै हिँड्नु दुर्गा प्रसाईंको दैनिकी हो ।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजकसमेत रहेका दुर्गा प्रसाईं साथमा रहेका युट्यूबरहरूको सहायतामा भलिभाँती बोल्दै मात्रै हिँड्दैनन्, नगरेको कामको जस लिनसमेत पछि पर्दैनन् ।
उनले भर्खरै मात्रै पनि उनले यसै गरे ।
धादिङका पहलमान थापा मगर ओखलढुङ्गाका भुवन श्रेष्ठसँगै पाँच वर्षयता दुबईको सारजाह कारागारमा थिए । २०१९ जुन ३ मा नवलपरासीका बाबुराम आले मगरको हत्या अभियोगमा त्यहाँको उच्च अदालतले मृत्युदण्डको सजाय सुनाएपछि पहलमान भुवनसँगै कारागारमा थिए ।
उनीहरूलाई मृत्युदण्डको सजाय सुनाइएपछि पहलमानका लागि नेपालस्थित विभिन्न मगर सङ्घ-सङ्गठनहरूले ब्लडमनी (मृत्युदण्डबापत्को भुक्तानी) सङ्कलन गरी भुक्तानी गरे र बुधबार मात्रै नेपाल फर्काए ।
तर, यता प्रसाईंलगायत उनका साथमा हिँड्ने युट्यूबरहरू भने उक्त रकम दुर्गा प्रसाईंकै नेतृत्वमा सङ्कलन भएको हौवा पिटिरहेका छन् । पहलमान र भुवन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौं अवतरण हुँदा पनि प्रसाईं आफैँ पुगेका थिए ।
तिनै युट्यूबरहरूलाई लिएर त्यहाँ पुगेका उनले पहलमान र भुवन दुवैलाई जागिर दिने घोषणा नै गरेका छन् । जागिर दिन्छन्, दिँदैनन् हेर्न बाँकी छ । भुवनको ब्लडमनी भने दुर्गा प्रसाईंको पहलमा बढी सङ्कलन भएको बुझिएको छ । तर, पहलमानको ब्लडमनीमा भने प्रसाईंको एक रुपैयाँ पनि परेको छैन ।
पहलमानका लागि ब्लडमनी सङ्कलक अभियन्ताहरूले प्रसाईंले आर्थिक सहयोग नगरेको स्पष्ट पारेका छन् । अभियन्ता तेज आले मगरका अनुसार प्रसाईंले एक रुपैयाँ पनि दिएका छैनन् ।
“दुर्गा प्रसाईंजीले हामीले आर्थिक सहयोग गर्नुभएको छैन । उहाँले गरेको भनेको पब्लिक सहयोग हो, त्यसका लागि हामी धन्यवाद भन्छौँ,” अभियन्ता आले मगरले भने “तर, आर्थिक रूपमा भने उहाँले एक रुपैयाँ पनि दिनुभएको छैन । बरु उहाँले सुरुमा ५० हजार दिने प्रतिबद्धता गर्नुभएको थियो, त्योसमेत प्राप्त भएको छैन ।”
अभियन्ता आले मगर थप्छन्, “त्यो रकम हामीले मगर सङ्घसङ्गठन र मनकारी समाजसेवीहरूबाट सङ्कलन गरेका हौँ । उहाँहरू सबैलाई धन्यवाद भन्छौँ ।”
५ वर्षअगाडि पहलमानका लागि ५० लाख ब्लडमनी माग भएको थियो । तर, अहिले भने ५४ लाख २३ हजारभन्दा बढी तिर्नुपर्यो । त्यहाँबाट अहिलेको करेन्सी भ्यालूएसनअनुसार आफूहरूले ५४ लाख २३ भन्दा बढी रकम भुक्तानी गरेको अभियन्ता आले मगरले बताए ।
अभियन्ताहरूले दुर्गा प्रसाईंले आफूहरूलाई ‘पलिटिक्स टूल्स्’ बनाएको दुखेसो गरेका छन् । आफूहरूले मानवता राखेर ५ वर्षयता ब्लडमनी जुटाउन लागेको उनीहरूले बताएका छन् ।
Facebook Comment
Comment