बिजुली बेचेर नेपाल पहिलो पटक नाफामा, भारतसँगको व्यापार घाटा खुम्चिदै जाने अपेक्षा

नेपालभ्युज

बिजुली बेचेर नेपाल पहिलो पटक नाफामा, भारतसँगको व्यापार घाटा खुम्चिदै जाने अपेक्षा

काठमाडौं । नेपालले विद्युत बेचेर पहिलो पटक नाफा आर्जन गरेको छ । भारतबाट किनेको भन्दा बेचेको विद्युत बढी भएसँगै नेपाल नाफामा गएको हो ।

नेपालले भारतीय बजारमा विद्युत् निर्यात थालेको तीन वर्षमा पहिलो पटक आयातभन्दा निर्यात बढी भएको छ ।

नेपाल विद्युत् प्राधिकरणले आइतबार सार्वजनिक गरेको विवरण अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा नेपाल निर्यात गर्ने मुलुक बनेको छ ।

२०८० साउनदेखि २०८१ असारसम्म नेपालले बिजुली बेचेर १६ अर्ब ९३ करोड २६ लाख रुपियाँ आम्दानी गरेको छ । सोही अवधिमा नेपालले १६ अर्ब ८१ करोड तीन लाख रुपियाँको विद्युत् किनेको छ ।

बिजुलीमा नेपाललाई झण्डै १२ करोड बढी नाफा भएको हो ।

सुक्खा याममा खोला तथा नदीहरूमा पानीको बहाव घटी देशभित्रका नदी प्रवाही जलविद्युत् गृहबाट विद्युत् उत्पादन घट्ने हुँदा माग धान्न गत आवमा भारतबाट एक अर्ब ८३ करोड ३५ लाख युनिट विद्युत् आयात गरिएको थियो ।

निर्यात गरिएको विद्युतको औसत दर प्रतियुनिट ८ रुपियाँ ७२ पैसा छ भने हिउँद याममा नेपालले खरिद गरेको विद्युतको औसत दर प्रतियुनिट ९ रुपियाँ १७ पैसा रहेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आगामी केही वर्ष अझै हिउँदका केही महिनाको आन्तरिक माग व्यवस्थापन गर्न विद्युत् आयात गर्नुपरे पनि अब निर्यातको परिमाण बढ्दै जाने बताए ।

विद्युत् उत्पादन बढ्दै जाँदा देशभित्र विद्युतीय सवारीसाधन र इन्डक्सन चुलोको प्रयोगले पेट्रोलियम पदार्थको आयातमा समेत गिरावट आएको छ ।

विद्युत् निर्यात बढ्दा नेपाल र भारतबिचको व्यापार घाटा पनि कम हुने आशा गरिएको छ । प्राधिकरणले १६ वटा आयोजनाबाट उत्पादित ६ सय ९० मेगावाट विद्युत् निर्यातको अनुमति पाएको छ ।

कार्यकारी निर्देशक घिसिङले मध्यकालीन सम्झौता अनुसार थप चार सय मेगावाट विद्युत् निर्यात अनुमति पाउने चरणमा रहेको पनि बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved