काठमाडौं । पेरिस ओलम्पिकबाट नेपालका दुई खेलाडी पहिलो चरणबाट बाहिरिएका छन् ।
सुटिङकी सुस्मिता नेपाल र पौडीकी डुवाना लामा प्रारम्भिक चरणबाटै बाहिरिएका हुन् ।
१० मिटर एयर राइफलमा प्रतिस्पर्धा गरेकी सुस्मिता ४३ खेलाडीमध्ये ४२औँ स्थानमा रहिन् ।
सो प्रतिस्पर्धाबाट आठ खेलाडीले अन्तिम चरणमा स्थान बनाएका छन् । छनोट चरणमा कोरियाकी ह्योजिन बनले ६३४ दशमलव ५ अंक जोड्दै ओलम्पिक रेकर्ड बनाएकी छन् ।
त्यस्तै पौडीमा नेपालकी डुवाना लामा हिट चरणबाटै बाहिरिएकी छिन् । महिला २०० मिटर फ्रि–स्टाइलमा प्रतिस्पर्धा गरेकी डुवानाले निर्धारित दूरी २ मिनेट २०.७४ सेकेण्डमा पूरा गरिन् ।
स्वास्थ्य अवस्थाको कारण उनले राम्रो प्रदर्शन गर्न नसकेको प्रशिक्षक नयना शाक्यले बताइन् ।
यस अघि टेबलटेनिसका स्यान्टु श्रेष्ठ पनि प्रतियोगिताबाट बाहिरिसकेका छन् ।
ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल पनि समूहचरणको पहिलो खेलमै पराजित भएका छन् । यद्यपी दाहालले दुई खेल खेल्न बाँकी छ ।
बाँकी दुई खेलमा पनि बलिया प्रतिद्धन्द्धि भएकाले प्रिन्सको यात्रा पनि कठिन हुने देखीएको छ ।
Facebook Comment
Comment