काठमाडौं । किसानले कृषि उपजलाई नै धितो राखेर ऋण लिन पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले कृषि उपजलाई नै धितो मानेर ऋण दिने नयाँ व्यवस्था गरेपछि किसानले उत्पादन गरेका कृषि उपज राखेर ऋण पाउने भएका हुन् ।
राष्ट्र बैंकले जारी गरेको नयाँ मौद्रिक नीति अनुसार कृषि तथा पशुपन्छी विकास मन्त्रालय पनि सोही अनुरुप ऐन तयारीमा जुटेको छ ।
कृषि मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा. हरिबहादुर केसीले नेपाल राष्ट्र बैंकले नै नीति बनाई सकेपछि आफूहरूलाई त्यसमा काम गर्न सजिलो भएको बताए ।
किसानलाई ऋण लिन झन्झट हुने अनि किसानसँग उत्पादित वस्तुबाहेक धितो राख्ने अरू केही पनि नहुने भएकाले अब ऋण लिन सजिलो हुने केसीले बताए ।
किसानले उत्पादन गरेको वस्तु धितो राखेर सहुलियतमा ऋण पाए भने राम्रो हुने भन्दै सबैले राष्ट्रबैंकको नीतिलाई स्वागत गरेका छन् ।
तत्कालीन अर्थमन्त्री वर्षमान पुनले सार्वजनिक गरेको आ व २०८१/८२ को बजेटमा कृषि उपज धितोमा राखेर ऋण लिन सकिने व्यवस्था गरिएको छ ।
बजेटमा उल्लेख भएको विषयलाई मौद्रिक नीतिले सम्वोधन गरेको भन्दै किसान खुसी भएका छन् ।
Facebook Comment
Comment