बिरामीको मृत्यु भएपछि धनगढीको नोभा अस्पतालमा तोडफोड

नेपालभ्युज

बिरामीको मृत्यु भएपछि धनगढीको नोभा अस्पतालमा तोडफोड

धनगढी । कञ्चनपुरको बेलौरी नगरपालिकाका १७ वर्षीय नसिब चौधरीको नोभा अस्पतालमा उपचारको क्रममा मृत्यु भएपछि आफन्तहरूले तोडफोड गरेका छन् ।

तोडफोडबाट अस्पतालको अगाडि भागका सिसा फुटेका छन् । तोडफोडका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा दुई जना घाइते भएका छन् ।

घाइते हुनेमा बेलौरी २ का अभिक बुढा र लक्ष्मण बुढा छन् । उनीहरूको सारथी अस्पतामा उपचार भइरहेको छ ।

जन्डिसको समस्या लिएर साउन ७ गते नोभा हस्पिटल भर्ना भएका चौधरीको शुक्रबार दिउँसो नेपालगञ्ज लैजान एम्बुलेन्समा राख्ने क्रममा मृत्यु भएको थियो ।

अस्पतालले उपचारमा लापरबाही गरेका कारण चौधरीको मृत्यु भएको आफन्तको दाबी छ । उनीहरूले शव बुझ्न मानेका छैनन् ।

मृतकका आफन्तले उचित क्षतिपूर्ति र उपचारमा संलग्न डाक्टरलाई कारबाही गर्नुपर्ने माग गरेका छन् । तर, अस्पतालले बिरामीको उपचारमा कुनै लापरबाही नभएको जनाएको छ ।

शुक्रबार साँझ मृतकका आफन्तसँग अस्पतालले वार्ता गरेको थियो तर, जिम्मेवार व्यक्ति वार्तामा आउनुपर्नेमा नर्स पठाइएको भन्दै आफन्तले बहिष्कार गरेका थिए ।

सुरक्षालाई मध्यनजर गर्दै अस्पतालमा प्रहरीले पहरा दिइरहेको छ भने मृतकका आफन्त समेत अस्पताल बाहिर भेला भएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved