सुर्खेत । कर्णाली प्रदेशका उत्तरी नाका छ वर्षपछि खुल्दैछन् । हुम्ला, मुगु र डोल्पा जिल्लासँग जोडिएका उत्तरी नाका छ वर्षपछि खुल्न लागेका हुन् ।
कोरोना महामारीका बेला चिनियाँ सरकारले एकतर्फी बन्द गरेका मुगुको नाक्चेलाक्ना, डोल्पाको मोरिल्ला र हुम्लाको यारी नाका यो वर्ष खोल्न लागिएको हो ।
हिमाली जिल्लाका प्रमुख व्यापारिक केन्द्रका रूपमा उत्तरी नाका रहेका छन् । नागरिकहरूले त्यहाँबाट खाद्यान्न, लत्ताकपडा ल्याउनुका साथै यताबाट जडिबुटीलगायत बिक्रि गर्दै आएका छन् ।
मोरिल्ला नाका साउन १७ बाट खुल्ने
कोरोना महामारीपछि बन्द भएको चीनको सिमानामा पर्ने मोरिम्ला नाका साउन १७ गतेदेखि खुल्ने भएको छ । अहिलेसम्म एक हजार आठ सयभन्दा धेरैको संख्यामा प्रवेशाज्ञा जारी गरेको जिल्ला प्रशासन कार्यालय डोल्पाले जनाएको छ ।
उक्त नाका छ वर्षपछि खुल्न लागेको प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले बताए । ‘यो आर्थिक वर्षमा चिनियाँ सरकार नाका खोल्न तयार भएको हो । उपल्लो डोल्पावासीको प्रमुख व्यापारिक केन्द्रका रूपमा रहेको नाका लामो समयपछि खुल्न लागेकाले सीमाक्षेत्र आसपासमा अस्थायी सुरक्षा पोष्ट खडा गरेर जाँचमा कडाइ गरिनेछ ।’ उनले भने ।
अवैध तथा प्रतिबन्धित वस्तु ओसारपसार गर्न नदिन डिभिजन वन कार्यालयले समेत निगरानी गर्ने भएको छ ।
१५ दिनका लागि मात्र खुल्ने नाकाबाट उपल्लो डोल्पावासीले चामल, नुन, तेल, चिया, लत्ताकपडा, घिउ, चिया, पेयपदार्थलगायत खाद्यवस्तुको किनमेल गर्ने गर्छन् । यसरी खरिद गरिएका सामग्री घोडा, खच्चड, याक, चौँरी, भेडा र मोटरसाइकलमा ढुवानी गर्ने गरिन्छ ।
उपल्लो डोल्पाका डोल्पोबुद्ध, शे–फोक्सुण्डो र छार्काताङ्सोङ गाउँपालिकाका नागरिकलाई सदरमुकाम झरेर सामान किन्न एक सातासम्म लाग्नुका साथै महँगो पनि पर्छ । डोल्पोबुद्ध गाउँपालिकाबाट एक दिनमै मोरिम्ला नाका पुग्न सकिन्छ ।
यस वर्ष तिब्बतको सिँगाचे प्रदेशमा पर्ने डोङ्बा काउन्टी नाकामा व्यापारिक मेला लाग्ने भएकाले सामान सस्तो पाइने डोल्पोबुद्ध गाउँपालिकाका पेमाछेवाङ गुरूङ बताउँछन् । ‘यस वर्ष उपल्लो डोल्पामै पर्ने क्याटो नाका भने नखुल्ने भएको छ’, उनले भने,‘चिनियाँ सरकारले आफुखुसी नाका खोल्ने र बन्द गर्ने गर्दै आएको छ ।’
नाक्चे लाग्ना पनि खुल्दै
यो नाका दुई साताका लागि खुल्नेछ । कोरोना महामारीका बेला बन्द उक्त नाका यही साउन १७ गतेदेखि साउन ३१ गतेसम्म खुला रहने छ ।
नाक्चे लाग्नासँगै डोल्पाको मायुम्ला नाका पनि दुई साताका लागि खुला गरिने प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले बताए । ‘चीनको हाटबजार ह्यजिमार क्षेत्रमा आउजाउ गर्न प्रवेशाज्ञा उपलब्ध गराउने तयारी भइरहेको छ’ उनले भने,‘नाका खुला गरिने समयावधिभर नेपालतर्फ सुरक्षा व्यवस्था मिलाइएको छ ।’
नाक्चे लाग्ना नाका भएर स्थानीय बासिन्दा आवश्यक सामग्री खरिद गर्न हाटबजार जाने गरेका छन् । अस्थायी नाका खोल्न र हाटबजार नियमित रूपमा सञ्चालन गर्न नेपालस्थित चिनियाँ दूतावास र परराष्ट्र मन्त्रालयबीच सहमति भएको हो ।
हाटबजारमा काठका सामग्री, जुत्ता, जडीबुटी, सिमेन्ट, जस्तापाता, चामल, छुर्पी, चिया, लत्ताकपडालगायत सामग्री किनबेच हुने गरेको मुगम कार्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङ क्याफ्ने लामाले बताए ।
‘नेपालतर्फ सडक सुविधा छैन । स्थानीय र व्यापारीले घोडा, खच्चर र चौरीगाईको सहयोगमा व्यापार गर्ने गर्छन्, नाका खुल्ने भएपछि उत्तरी क्षेत्रका बासिन्दालाई केही राहत हुने भएको छ ।’ उनले भने ।
सस्तो दैनिक उपभोग्य वस्तु किनबेच गर्न नाका खुला भएपछि सहज हुने बताउँछन् । सदरमुकाम गमगढीबाट नाग्चे लाग्ना नाकासम्मको ८७ किमी सडक बनाउने कार्य अघि बढेको मुगुम कार्मारोङ गाउँपालिका–१ का वडाध्यक्ष च्यावा लामाले बताए । ‘हालसम्म १७ किमी सडकको ट्र्याक खोल्ने काम सकिएको छ’ उनले भने,‘नाग्चे लाग्ना नाका मुगु र तिब्बतको झोङ्बा काउन्टीस्थित नाइजु जोड्ने नाका हो ।’
हुम्लामा पाँच हजार सात सयले लिए सीमा पास
वैशाख महिनादेखि हालसम्म जिल्ला प्रशासन कार्यालय हुम्लाले पाँच हजार सात सय ८० जनालाई हिल्सा नाका हुँदै चीनको ताक्लाकोट पुग्ने सीमा पास दिएको छ ।
दैनिक सीमा पासका लागि पाँच जनादेखि आठ जनासम्म लिने गरेको जिल्ला प्रशासन कार्यालय हुम्लाले जनाएको छ । अहिलेसम्म सीमा पास लिनेहरूमा तीन हजार महिला र दुई हजार सय ८० पुरूष रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
नाकामा चिनियाँको मनपरी
छ वर्षयता सीमाको परिस्थिति भने मनपरी देखिएको छ । सीमा सञ्चालनमा कुनै निती नियम छैनन् । स्थानीय व्यवसायीका अनुसार कुन बेला नाका बन्द गर्ने, कुन बेला खुला गर्ने, कुन सामान बढी पठाउने, कुन कम पढाउने, वस्तुको कोटा कति तोक्नेजस्ता काम चिनियाँ पक्षको तजबिजीमा चल्ने गरेको छ । जसले उत्तरी नाकामा बस्ने नेपालीको जनजीवनलाई असहजतातिर डोर्याउँदै छ ।
हुम्लाको उत्तरी हिल्सा नाका खुले पनि हुम्लाको चंखेली गाउँपालिका–५ स्थित रहेको टाँके नाका र सिमकोट गाउँपालिका १ स्थित रहेको च्वाखोला नाका छ वर्षदेखि खुलेको छैन । चीनसँग जोडिएको हुम्लाको टाँके नाका र च्वाखोला नाका नखुलेपछि स्थानीय बासीहरूलाई दैनिक उपभोग्य वस्तु आयतमा समस्या भएको चंखेली गाउँपालिका–५ का भियाले तामाङले बताए ।
Facebook Comment
Comment