ग्लोबल आईएमई बैंकले ५ अर्बको ऋणपत्र निष्कासन गर्दै, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल

नेपालभ्युज

ग्लोबल आईएमई बैंकले ५ अर्बको ऋणपत्र निष्कासन गर्दै, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले ५ अर्बको रुपैयाँको ऋणपत्र निष्कासन गर्ने भएको छ। उक्त ऋणपत्र बिक्रीको लागि ग्लोबल आईएमई बैंकले बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटललाई नियुक्त गरेको छ।

बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतामा ग्लोबल आईएमई बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र लक्ष्मी सनराइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले हस्ताक्षर गरेका छन्।

बैंकले वार्षिक ८ प्रतिशत ब्याज प्रदान गर्ने ‘ग्लोबल आईएमई बैंक ऋणपत्र २०९१/९२’ जारी गर्न लागेको हो । बैंकले प्रति कित्ता १ हजार रुपैयाँको दरले ५० लाख युनिट ऋणपत्र बिक्री गर्न लागेको हो।

जारी युनिटको ४० प्रतिशत अर्थात २ अर्ब बराबरको २० लाख युनिट सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत अर्थात २ अर्ब बराबरको ३० लाख युनिट व्यक्तिगत तबरबाट बिक्री गरिने छ। १० वर्ष अवधिको उक्त ऋणपत्रमा वार्षिक ८ प्रतिशत दरले अर्धवार्षिक रुपमा ब्याज भुक्तानी हुनेछ।

ग्लोबल आईएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल भएको निजी क्षेत्रको पहिलो बैंक हो। बैंकका १,१०० भन्दा बढी सेवा केन्द्रहरू, जसमा ३५४ शाखा कार्यालय, ३८४ एटीएम, २७७ शाखारहित बैंकिङ सेवाहरू, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टरहरू ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयहरू रहेका छन्।

बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स भित्र्याउने सुविधा पनि दिँदै आएको छ। बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved