काठमाडौं । ओपनर सम्झना खड्काको उत्कृष्ट प्रदर्शनमा एसीसी महिला एसिया कपमा नेपालले यूएईलाई पराजित गरेको छ ।
श्रीलंकाको दाम्बुला क्रिकेट रंगशालामा शुक्रबार भएको खेलमा नेपालले यूएईलाई ६ विकेटले हराएको हो ।
यूएईले दिएको ११६ रनको लक्ष्य नेपालले १६.१ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो ।
नेपालका लागि सम्झना खड्काले अर्धशतकीय पारी खेलिन् । अविजित रहँदै उनले ४५ बलमा ७२ रन बनाइन् । त्यसक्रममा उनले ११ चौका प्रहार गरिन् । उनको यो पहिलो अर्धशतकसमेत हो । रुविना क्षेत्रीले १० रन जोडिन् ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले पूरै ओभर खेलेर ८ विकेटको क्षतिमा ११५ रन बनाएको थियो ।
यूएईका लागि खुसी शर्माले ३६ रनमा अविजत रहँदा कविशा इगोडागेले भने २२ रन बनाइन् ।
नेपालका लागि इन्दु बर्माले ३ तथा कविता जोशी, सबनम राई र कृतिका मरासिनीले १–१ विकेट लिए ।
नेपालले अब आइतबार पाकिस्तानको सामना गर्नेछ ।
Facebook Comment
Comment