काठमाडौं । पछिल्लो समय नेपाल र भारतबीच ऊर्जा सहकार्यसहित आर्थिक विकास, सांस्कृतिक गतिविधितर्फ विविध विषयमा सहमति सम्झौता अघि बढिरहँदा नयाँ सरकार आएपछि यी सम्बन्धहरूलाई कसरी अघि बढाउला भन्ने सबैमा ध्यान छ ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा नेपालबाट १० वर्षमा १० हजार मेगावाट विद्युत् खरिद गर्ने सम्झौता भई कार्यान्वयन अघि बढिरहेको छ । ठीक यही बेला प्रचण्डलाई विस्थापित गर्दै नेपाली कांगेससँगको गठबन्धनमा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेका छन् ।
यसअघि ओली प्रधानमन्त्री हुँदा दुई मुलुकबीचको सम्बन्धमा सबैभन्दा बढी चर्चा हुने विषयमा पर्थ्यो । यस्तै नेपाल-भारत शान्ति तथा मैत्री सन्धि–१९५० र नेपाल-भारत प्रबुद्ध व्यक्तिहरूको समूह (ईपीजी) पनि । साथै चर्चामा थियो नक्सा विवाद । तर, ती विषय थाँती राखेर ओलीपछिका सरकारले दीर्घकालीन ऊर्जा व्यापार सम्झौतालगायत आर्थिक विषयलाई जोड दिएको थियो ।
दुई मुलुकबीचको सम्बन्ध राजनीतिक मुद्दाबाट मोडिएर आर्थिक, विकास, ऊर्जा, प्राविधिक, धार्मिकलगायतका विषयमा अघि बढेको देखिन्छ ।
भारतले नेपाल मामिलामा ऊर्जा मात्र होइन, पूर्वाधार विकास र अन्य क्षेत्रमा पनि आफ्नो सहभागितामा ध्यान केन्द्रित गर्न थालेको छ । यो अवस्थामा नयाँ बनेको ओली सरकारले कस्तो रणनीति बनाउला चासोका साथ हेरिएको छ ।
०००
कांग्रेस-एमालेको सत्ता गठबन्धनबाट केपी शर्मा ओली प्रधानमन्त्री बनेलगतै भारतीय समकक्षी मोदीले बधाई दिइसकेका छन् । सोमबार बिहान शीतलनिवासमा नयाँ प्रधानमन्त्रीको शपथग्रहण समारोह चलिरहँदा मोदीले सामाजिक सञ्जाल एक्समार्फत बधाई दिए ।
“नेपालको प्रधानमन्त्रीको रूपमा नियुक्त हुनु भएकामा केपी शर्मा ओलीलाई हार्दिक बधाई । हाम्रा दुई देशबीचको मित्रताको गहिरो सम्बन्धलाई अझ बलियो बनाउन र हाम्रा जनताको प्रगति र समृद्धिका लागि हाम्रा पारस्परिक लाभदायक सहकार्यलाई थप विस्तार गर्न मिलेर काम गर्न तत्पर छु,” मोदीको बधाई सन्देश थियो ।
प्रधानमन्त्री ओलीले अपराह्न ४ बजे एक्समार्फत नै मोदीलाई धन्यवाद दिए । “न्यानो बधाईका लागि धन्यवाद प्रधानमन्त्री मोदी । म पारस्परिक हितका लागि नेपाल-भारत सम्बन्धलाई सुदृढ गर्न तपाईंसँग निकट रूपमा काम गर्न प्रतिबद्ध छु । सँगै हामीले हाम्रो ऐतिहासिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन सक्छौँ,” ओलीले जवाफ फर्काए ।
भारतबाट सबैभन्दा पहिले शुभकामना आउनुलाई कतिपयले नेपाल भारत सम्बन्धलाई आत्मीय र विश्वसनीय सन्देश दिन खोजिएको रूपमा हेरेका छन् ।
मोदी मात्र नभई सोमबारै भारतीय विदेशमन्त्री डा. एस जयशंकरले पनि नवनियुक्त नेपाली समकक्षी डा. आरजु राणा देउवालाई एक्समा बधाई दिए । “नेपालसँग बहुआयामिक साझेदारी अभिवृद्धि गर्न मिलेर काम गर्न प्रतीक्षारत छु,” उनले भनेका थिए ।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री ओलीलाई सपथ ग्रहण समारोहमा बधाई दिएका थिए । सिंहदरबार गएर पदभार ग्रहण नगर्दै राष्ट्रपति कार्यालय शीतलनिवासमै शपथ समारोहमा भेटेर सफल कार्यकालको शुभकामना दिए ।
०००
यसअघि ओली प्रधानमन्त्री हुँदा नक्सा विवादले दुईदेशबीच सम्बन्ध चिसिएको थियो । त्यसबीचमा २ पटक सरकार फेरिसकेको छ ।
ती सरकारले सम्बन्ध पुरानै लयमा ल्याइसकेका छन् । राजनीतिक मुद्दा नटुङ्ग्याइ अन्य मुद्दामा प्रवेश गर्नु उचित हुन्छ वा आर्थिक मुद्दालाई अघि बढाएर विश्वासको वातावरणसहित राजनीतिक मुद्दामा फर्कनु उचित हुन्छ, दुई मुलुकबीचको सम्बन्धमा अहिलेको सबैभन्दा पेचिलो प्रश्न बनेको छ ।
अहिले ओली सरकारले भारतसँगको सम्बन्ध विश्वासमा बदल्न मिहिनेत गर्नुपर्ने विज्ञ तथा अनुभवीहरूको तर्क छ ।
प्रमुख दल कांग्रेस र एमालेको सत्तागठबन्धनले नेपालको निर्णायकत्व स्थापित गर्ने अवसरलाई सदुपयोग गर्नुपर्ने जानकार बताउँछन् ।
पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डे भन्छन्, “शंकालु वैदेशिक नजर नेपालको राजनीति र कूटनीतिका लागि चुनौतीपूर्ण हुनेछ । दुवै छिमेकीसँगको सम्बन्धमा विश्वास कायम बनाएर अघि बढ्नुपर्ने छ । यसको लागि राजनीतिक मुद्दा नटुङ्ग्याइ अन्य मुद्दामा प्रवेश गर्ने वा आर्थिक मुद्दालाई अघि बढाएर विश्वासको वातावरणसहित राजनीतिक मुद्दामा फर्कने भन्नेमा बुद्धिमत्तापूर्वक निर्णय लिनुपर्ने छ ।”
सरकारमा रहेका दलका कतिपय नेताहरूले नेपालको भने पहिलो एजेन्डा आर्थिक व्यवस्थालाई सम्बोधन गर्न तत्काल, अल्पकालीन र दीर्घकालीन एवं राष्ट्रिय नीति, यस आधारमा दुरदर्शी योजनासहितको रणनीतिक प्रयास गर्नुपर्नेमा जोड दिएका छन् । यसले भने विगतमा देखिएका राजनीतिक समस्या पछि समाधान गर्नमा सरकार केन्द्रित रहने संकेत गरेको छ ।
यद्यपि नवनियुक्त परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले भने राजनीतिक मुद्दामा सँगसँगै समाधान खोज्ने संकेत गरिसकेकी छिन् । सोमबार पदभार ग्रहण गर्नेक्रममा उनले सुमधुर रूपमै समस्या हल गर्दै अघि बढ्ने बताइन् । इतिहास, भूगोल र प्रमाणका आधारमा भारतसँगको सीमा विवाद टुङ्ग्याउने विश्वास व्यक्त गरिन् ।
सञ्चारकर्मीसँग उनले भनिन्, “नेपाल-भारत सीमा विगतमा जस्तो असुरक्षित छैन । अहिले प्रविधि, स्याटलाइटले अनुगमन सजिलो बनाएको छ । छिमेकीसहित दौत्यसम्बन्ध भएका मुलुक, संयुक्त राष्ट्रसंघलगायतसँग सहकार्य सुदृढ गर्नेछौँ ।”
प्रचण्डले गरेका सम्झौता के हुन्छ ?
अघिल्ला प्रधानमन्त्री प्रचण्डले अघिल्लो जेठ १७-२० मा औपचारिक भारत भ्रमण गरेका थिए । पछिल्लो पटक मोदी तेस्रो कार्यकालको लागि प्रधानमन्त्री हुँदा शपथग्रहण समारोहमा पनि सहभागी भएका थिए ।
औपचारिक भ्रमणको क्रममा मोदीले भारतले १० वर्षमा नेपालबाट १० हजार मेगावाट विद्युत् आयात गर्ने घोषणा गरेका थिए । सोही घोषणाले भारतका विदेशमन्त्री एस जयशंकर नेपाल-भारत परराष्ट्र मन्त्रीस्तरीय सातौँ संयुक्त आयोगको बैठकका लागि पुस तेस्रो साता आएका बेला मूर्त रूप लिइसकेको छ ।
त्यसैलाई ख्याल गरेर भारतले विगतमा दूतावासबाट दिँदै आएको ५ करोड रुपैयाँ सहयोगको सीमालाई २० करोड पुर्याइएको छ । यसले नेपालको विकास, अर्थतन्त्रमा फाइदा पुर्याउने भएकाले नयाँ सरकारले पनि यसलाई प्राथमिकताका साथ निरन्तरता दिने कतिपय सत्तारुढ नेताहरु बताउँछन् ।
धार्मिक कूटनीति के होला ?
पछिल्लो समय दुई मुलुकबीच पछिल्लो समय धार्मिक कूटनीति बढी चर्चामा आउन थालेको छ । हिन्दु र हिन्दुत्वलाई केन्द्रमा राखेर उदाएको र अहिले सत्तामा रहेको भाजपासँग नेपालले धार्मिक कूटनीतिमार्फत सम्बन्ध सुमधुर बनाउन खोजिरहेको छ ।
मोदीले २०७५ वैशाखमा नेपाल भ्रमण गर्दा मुक्तिनाथ र जनकपुरधाम पुगेका थिए । हरेक पटक नेपाल भ्रमण गर्दा उनी पशुपतिनाथको दर्शन गर्न छुटाउँदैनन् । मोदीले २०७९ जेठ २ मा बुद्ध जयन्तीको अवसर पारेर गौतम बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गरेका थिए ।
अघिल्लो पटक ओली हटेपछि प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले भारत भ्रमणकै क्रममा बनारस पुगेका थिए । २०७८ चैतमा भारत गएका उनी उत्तर प्रदेशको बनारस पुगेर काशी विश्वनाथसहित अन्य मन्दिरको दर्शन गरेका थिए ।
त्यसलाई गत जेठमा भारत भ्रमणको दौरान प्रधानमन्त्री दाहालले पनि पछ्याउँदै मध्य प्रदेशको महाकालेश्वर मन्दिर पुगे । उनले त्यहाँ गेरु वस्त्र धारण गरेको फोटोको काफी चर्चा भएको थियो ।
अब प्रधानमन्त्री ओलीले पनि विदेश भ्रमण भारतबाटै थाल्नेछन् । भारतबाट निम्तो आएमा राजनीतिक र आर्थिक एजेन्डाको साथमा उनले पनि कुनै तिर्थघाटको यात्रा तय गर्न सक्ने कतिपयको आंकलन छ ।
Facebook Comment
Comment