काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तन हुनु धेरै ठूलो कुरा नभएको बताएका छन् ।
मंगलबार बालुवाटारमा एमाले जिल्ला कमिटी सिन्धुपाल्चोकका नेताहरूसँगको छलफलमा सरकार समयसमयमा परिवर्तन भइरहने बताएका हुन् ।
तर, यसपटक पहिलेको जस्तो घेराबन्दीमा नरहेको उनको भनाइ छ ।
‘यस पटक मसँग अघिल्लो पटक सरकार चलाएका अनुभवहरू पनि छन् । मैले अप्ठयाराहरूसँग जुधेको छु । कोभिडसँग जुधेको छु । नाकाबन्दीसँग जुधेको छु ।’, उनले भने, ‘पार्टीभित्रैका डरलाग्दा अप्ठ्याराहरूसँग जुधेको छु । घेराबन्दीसँग जुधेको छु । ती अनुभवहरू पनि मसँग छ । आज कतै पनि त्यस्तो स्थिति छैन । आज त्यस प्रकारको घेराबन्दीको स्थिति छैन ।’
साथै, सरकारले सामाजिक क्षेत्र, विकासको क्षेत्र र शासन प्रशासनको क्षेत्र सबैतिर सकारात्मक देखिने गरी परिणाम आउने गरी काम गर्ने ओलीले बताए ।
सरकारबाट जनतामा नयाँ भरोसा जागेको पनि प्रधानमन्त्री ओली बताउँछन् ।
Facebook Comment
Comment