काठमाडौं । रुकुम पूर्वी जिल्लाको भूमे गाउँपालिकाकी उपाध्यक्ष सबिना बुढाले पालिकाको बजेटमा स्थानीय आवश्यकता र नागरिकको चाहना अनुसारका योजना छनोट नभएकाले आफूले विद्रोह गरेको प्रस्टीकरण दिएकी छिन् ।
‘गाउँसभामा उपाध्यक्षले नै च्यातिन् बजेट, आफ्नो ‘हालीमुहाली चल्ने ठाउँ’मा बजेट थोरै भएको असन्तुष्टि’ शीर्षकमा समाचार प्रसारण भएपछि उनले पालिका अध्यक्षको टिमले आफूलाई बाइपास गर्दै समावेशिता, दिगो विकास र न्यायपूर्ण बजेटको बाँडफाँड नगरेपछि विरोध स्वरूप बजेट च्यातेको भन्दै खण्डन गरेकी हुन् ।
१० असारमा गाउँसभा बैठकमा बजेट पढ्न गएकी उपाध्यक्ष बुढा आफैँले बजेटको झोला च्यातेपछि उनको आलोचना भएको थियो । तर, उपाध्यक्ष बुढाले भने पालिका अध्यक्ष होमप्रकाश श्रेष्ठले आफ्ना क्षेत्र र आफ्नो हालीमुहाली गर्ने ठाउँमा मात्रै बजेट केन्द्रित गरेको आरोप लगाइन् ।
बजेटमा विभेद गरिएकोले आफ्नो असन्तुष्टि रहेको भन्दै बुढाले कैँची नभेटेपछि रिबन लुछेर झोला खोल्नुपरेको प्रष्टीकरण दिइन् । ‘‘बजेट बनाउँदा गतवर्ष पनि मलाई पाखा लगाइयो । अहिले पनि यस्तै भयो । मैले बजेट असमान भयो । बजेट सच्याएर ल्याउनुपर्छ भनेर मैले भनिरहेँ । तर सुनेनन् त्यसपछि विद्रोह स्वरूप मैले बजेट च्यातेको हुँ । त्यो मेरो आक्रोश थिएन । विरोध प्रदर्शन थियो । विभेदपूर्ण बजेट अस्वीकार्य छ । त्यसमाथि त्यहाँ कैँची पनि दिइएन । यसैले मैले झड्कारेर झोला खोलेकी हुँ । च्यातेको भन्दै गलत अर्थ लगाइयो । यसमा मेरो आपत्ति छ’’ उपाध्यक्ष बुढाले भनिन् ।
पालिकामा महिला प्रतिनिधिलाई हेपिएको पनि उनको गुनासो छ । उनको गुनासो छ, ‘‘पालिकामा हामी जम्मा चारजना महिना प्रतिनिधि छौँ । त्यही पनि अरू महिला सदस्यहरू बोल्न सक्दैनन् । अलिअलि बोल्नसक्ने मलाई पनि हेप्छन् । मेरो अधिकार क्षेत्र कटौती गरेका छन् । महिला जनप्रतिनिधिलाई बजेट निर्माणमा नसमेट्ने र उल्टै बदनाम पनि गर्न खोज्दैछन् ।’’
भूमेमा स्थानीय तहका जनप्रतिनिधिले जनअपेक्षाअनुसार काम गर्न नसकेको गुनासो चुलिँदै जाँदा उपमेयर बुढाले नै बजेट बनाउनेदेखि कार्यान्वयनसम्मै चरम दुरुपयोग भइरहेको आरोप लगाएकी छिन् ।
गाउँसभामा उपाध्यक्षले नै च्यातिन् बजेट, आफ्नो ‘हालीमुहाली चल्ने ठाउँ’मा बजेट थोरै भएको असन्तुष्टि (भिडिओ)
आफू उपाध्यक्ष भएकाले जनताको चुलोको सरकार भनेर चिनाउने प्रयास गरिरहँदा सहयोग नपाएको गुनासो गरिन् । उनले भनिन्, ‘‘पालिकाको बेथितीबारे म आफैँ अख्तियारदेखि राष्ट्रिय सतर्ककर्ता केन्द्रसम्म जान्छु । म मेरा मतदातालाई निराश बनाउँदिन । म एक्लै भए पनि जनतालाई आशा जगाउने काम गर्छु ।’’
यसबारे पालिकाअध्यक्ष होम प्रकाश श्रेष्ठसँग प्रतिक्रिया दिन खोज्दा फोन उठाएनन् । भूमेको अधिकांश वडामा मनपरी र कर्मचारीको लापरबाहीले चरम बेतिथि निम्त्याएको मात्र छैन, संघीयतामै वितृष्णा जगाउने काम भएको स्थानीयको गुनासो छ ।
पालिकामा महिला जनप्रतिनिधिको आवाज नसुनेर पुरुष जनप्रतिनिधिले पेलेरै निर्णय गर्छन् । यसरी ऐन, नियम विपरीत मनपरी खर्च गर्ने प्रवृत्तिले बेरुजु बढ्दै गएको समेत बताइन्छ ।
जानकारहरू भन्छन्, ‘‘पुरुष जनप्रतिनिधिले जबरजस्ती गर्ने प्रवृत्ति बढ्दो छ । एकातिर बजेट सन्तुलित छैन । अर्कोतिर नियम, कानुन, कार्यविधि नबनाएरै कार्यपालिकाको निर्णयलाई मात्र आधार मानेर खर्च भइरहेको छ ।’’
Facebook Comment
Comment