काठमाडौं । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–७ स्थित नारायणी नदी किनारमा दुई जना मृत अवस्थामा फेला परेका छन् ।
नारायणी किनारको बालुवामा आधा गाडिएको अवस्थामा स्थानीयले मृत व्यक्तिलाई देखेका थिए । त्यसपछि उनीहरूले प्रहरीलाई खबर गरेका थिए ।
मृतकलाई चितवनतर्फ ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले जानकारी दिए ।
ती मृतकहरू शुक्रबार बिहान नारायणगढ–मुग्लिन सडकअन्तर्गत सिमलतालबाट पहिरोसँगै त्रिशूली नदीमा खसेका दुई बसका यात्रु रहेको हुनसक्ने अनुमान गरिएको छ ।
तर, सनाखत हुन नसकेकोले अहिले नै पुष्टि गर्ने अवस्था नरहेको डीएसपी रिजालले बताए ।
यसअघि आजै चितवनको गोलाघाटस्थित नारायणी नदी बीचमा भारतीय नागरिक ऋषिपाल साह मृत अवस्थामा भेटिएका थिए । उनी सिमलतालमा पहिरोले बगाएको बसको यात्रुको भएको पुष्टि भइसकेको छ ।
भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रबार बिहान करिब ३ बजे वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्सको बसलाई लेदोसहितको पहिरोले त्रिशूलीमा बगाएको थियो ।
यात्रु खोज्न सशस्त्रका चार, नेपाल प्रहरीको एउटा मोटरबोट, गोताखोर टोलीलगायत परिचालन गरिएको छ ।
Facebook Comment
Comment