तीन दलद्वारा मुख्यमन्त्री सोडारीको राजीनामा माग

नेपालभ्युज

तीन दलद्वारा मुख्यमन्त्री सोडारीको राजीनामा माग

धनगढी । सुदूरपश्चिमका तीन राजनीतिक दलले मुख्यमन्त्री दीर्घबहादुर सोडारीको तत्काल राजीनामा माग गरेका छन् ।

नयाँ गठबन्धनमा आबद्ध नेपाली कांग्रेस, नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीले शनिबार धनगढीमा संयुक्त रूपमा पत्रकार सम्मेलन गरी मुख्यमन्त्री सोडारीको राजीनामा मागेका हुन् ।

कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले नयाँ गठबन्धन बनेपछि मुख्यमन्त्री सोडारी अल्पमतमा परिसकेको बताए ।

‘विश्वासको मत लिन खोजे पनि पाउने अवस्था छैन । बजेट माथिको छलफल हुन सकेको छैन । अल्पमतको सरकारले केही ठूला निर्णयहरू पनि गर्न सक्दैन । त्यसैले राजीनामा दिएर सरकार गठनको बाटो सहज पार्दिनु,’ उनले सोडारीलाई आग्रह गर्दै भने ।

केन्द्रमा नयाँ सत्ता गठबन्धन बनेपछि सुदूरपश्चिममा नेकपा एमालेले मुख्यमन्त्री सोडारीलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । एमालेले समर्थन फिर्ता लिएसँगै सोडारी नेतृत्वको सरकार अल्पमतमा परेको छ ।

नेकपा एमाले संसदीय दलकी उपनेता सन्तोष कुमारी शर्मा थापाले एमालेले समर्थन लिएपछि कामचलाउ मुख्यमन्त्री बनेका सोडारीले तत्काल राजिनामा दिनुपर्ने बताइन् ।

साथै, नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता घनश्याम चौधरीले बहुमत गुमाईसकेका सोडारीले तत्काल नैतिकताका आधारमा राजिनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved