काठमाडौं । ‘१५ रुपे लिएर कुद्दै आउनु कुल्फी खान, मीठो छ । पैसा हातमा बोक्नुहोस्, छिटो-छिटो कुल्फी खान आउनुहोस्,’ मनकुमार राई ठट्यौली पारमा ग्राहक बोलाइरहन्छन् । ग्राहक बोलाउने मनकुमारको तरिकालाई बडो चाख मान्दै हेर्छन् मानिसहरू ।
काठमाडौंको नारायणटारदेखि थोरै दायाँतर्फ मोडिएपछि पुगिन्छ लभडाँडा । पछिल्लो समय आन्तरिक पर्यटकको भीड लाग्ने गरेको लभडाँडामा टन्नै प्रेमजोडीहरू पुग्छन् । मनकुमार तिनै प्रेमजोडीहरूलाई कुल्फी खुवाइरहेका छन्, प्रेममा गर्माइरहेका उनीहरूलाई चिसो कुल्फी खुवाउनु मनकुमारको दैनिकी हो ।
उमेरले ३८ वर्ष पुगेका मनकुमारको व्यवहार र हाउभाउ निकै चञ्चल छ, जोसुकैलाई मन परिहाल्ने । जहाँ, लभडाँडा घुम्न जाने प्राय:को नजर उनमा ठोकिन्छ । त्यहाँ पुग्ने आन्तरिक पर्यटकहरूले कुल्फी मात्रै खाँदैनन्, मनकुमार गीत, हाउभाउ र व्यवहारबाट भरपूर मनोरञ्जनसमेत लिन्छन् । उनी भनिरहन्छन्, “आउनुस्, आउनुस् गर्मी चिसो-चिसो कुल्फी खानुस् । हेरेको,सोधेको पैसा लाग्दैन ।”
लामो समयदेखि लभडाँडा परिसरमै कुल्फी, बदामलगायत बेच्ने मनकुमार लभडाँडाको रौनक बनिसकेका छन् । सधैँ हाफ सेतो सर्ट र हाफ बक्स-पाइन्टमा देखिने मनकुमारको मुखमा सानो माइक छ । अनि काँधमा सानो बक्सा र त्यो बक्साभित्र सिजनअनुसार कुल्फी तथा बदाम ।
‘ए ल दिदीबहिनी पो आउनुभएछ, लु छिटो-छिटो कुल्फी खानुहोस्, चौरीगाईको शुद्ध दूधको कुल्फी हो । मात्र १५ रुपैयाँमै पाइन्छ । सबैले खाइसके, तपाईंहरू मात्र बाँकी हुनुहुन्छ,” मनकुमार चातुर्यताका साथ आफूले बोकेको कुल्फी र बदामको मार्केटिङ गर्छन् । मनकुमार दिनभरिको चर्को घाममा पनि यसरी नै कराइरहन्छन् । मानौँ, उनलाई घामपानीले कुनै असर नै गर्दैन, उनका लागि असारे झरी र घाम सबैभन्दा हितैषी हुन् ।
कुल्फी देखाउँदै उनी भन्छन्, “घामले त मलाई पोल्दै पोल्दैन । पोले पनि म चिसो चौरीको दूधबाट बनेको यी यही कुल्फी खाइहाल्छु नि ।” उनको यो रमाइलो पारा प्राय:लाई मन पर्छ । हुनसक्छ, मानिसहरू मनकुमारको यही बोलाइबाट प्रभावित भएर उनको सामान किन्छन ।
तपाईं सधैँ यसरी नै कराइरहनुहुन्छ, थाक्नुहुन्न ? भन्ने प्रश्नमा मनकुमार निरन्तरता बोल्छन्, “नाइँ थाक्दिनँ म त । यसरी नै कराउनु, हिँड्नु र बोल्नु अति रमाइलो लाग्छ । मेरो सामान पनि बिक्री हुन्छ । ग्राहक पनि खुसी हुन्छन् । म पनि स्वस्थ हुन्छु । थाके पनि पानी खाएर बोल्छु ।”
उनी दिनभरि लभडाँडा परिसरमा घुमी-घुमी मानिसहरू हँसाउँछन्, कुल्फी बेच्छन् । उनको नजिकको बाटो हिँडेका प्राय: मानिसहरू उनको बोल्ने शैली र ग्राहक बोलाउने तरिकाप्रति हाँस्दैनन् मात्रै, कुल्फी बदामसमेत किनिदिन्छन् ।औ
आफूसँग धेरैले फोटो भिडियो खिचेर लगेको उनको मनकुमारको अनुभव छ । “मेरो यही बोल्ने तरिकालाई सबैले मन पराउँनुहुन्छ, कतिले त फोटा भिडियो खिचेर लैजानुहुन्छ । म नाची पनि दिन्छु । उहाँहरू झन् रमाउनुहुन्छ,” मनकुमार अनुभव साट्छन् ।
“कुल्फी खानेभए १५ रुपे हातमा बोकेर कुद्दै आउनु, नखाने भएपनि हाँस्दै जानु, यदि हाँस्न सक्नुहुन्न भने पनि दाँत देखाउँदै जानु,” यो मनकुमारको सिग्नेचर भनाइ हो । उनी भनिरहन्छन्, दोहोर्याइरहन्छन् ।
संघर्षका ती दिन
सानैमा आमाबुबा बितेपछि घरको आर्थिक अवस्था कमजोर भयो । फलत: मनकुमारलाई पढन् असहज भयो । यतै पढ्ने सपना बोकेर मनकुमार २०४९ सालमा काठमाडौं आए । तर, काठमाडौंमा उनले आफ्ना सपना धान्न सकेनन् ।
ती संघर्षका दिनहरू सम्झँदा भावुक हुन्छन् मनकुमार । बिरानो सहरमा आफन्त नहुनुको पीडा र काम नपाउनुको छटपटाहटको अनुभव राम्रोसँग सङ्गालेका छन् उनले । “राम्रो लाउँछु, मीठा खान पाउँछु अनि पढ्छु पनि भनेर काठमाडौं आएँ । तर, सहज कहाँ हुँदोरहेछ र,” उनी विगत सम्झन्छन् ।
मुटुमा समस्या देखिएपछि कुल्फी बेच्न थाले
मनकुमार काठमाडौं आएपछि संघर्ष मात्रै थपिएनन्, मुटुरोगसमेत थपियो । अचानक मुटुमा समस्या देखिन थालेपछि उनको सबै सपना अधुरै रह्यो ।
मनकुमार आफ्ना कथा सुनाउँछन्, “मुटुको समस्या देखा पर्यो । अनि औषधि खान थालेँ । ३/४ वर्ष औषधि खाँदा पनि खासै पार लागेन । अनि डाक्टरले पनि हिँड्डुल गर्नु, बोलिरहनु भन्नुभयो । त्यसैले यो काम गर्न थालेँ । अहिले ठीक छु ।”
रोगी भएसँगै पढ्ने उनको सपनामा पर्दा लाग्यो । तर, सपना मरे पनि मरेन उनको आत्मबल । उनले नाच्दै हाँस्दै कुल्फी बेच्ने काम गर्न थाले । यही कामले उनलाई सामाजिक सञ्जालमा ‘कुल्फी बेच्ने राई’ भनी चिनाएको पनि छ ।
“म त भाइरल पो भा’को छु त । धेरैपछि म घर गएको थिएँ, त्यहाँ मलाई सबैले चिन्नुभयो । कतिले त फोटो पनि खिचाउनुभयो मसँग,” मनकुमार आफ्नो प्रसिद्धिको किस्सा सुनाउँदै मख्ख पर्छन् ।
त्यसो त केही वर्षपहिले प्रसिद्ध कलाकार तक्मे बूढा ऊर्फ विल्सन विक्रम राईले मनकुमारको ‘कुल्फी आयो’ भन्ने थेगोबाट म्युजिक भिडिओ नै बनाए । त्यसबाट उनले अझ बढी प्रसिद्धि कमाए । त्यो गीतको सफलतापछि उनले नागरिकतासमेत पाए । जबकि त्यसअगाडि उनले नागरिकतासमेत प्राप्त गरेका थिएनन् ।
Facebook Comment
Comment