उत्कर्षमा बाइडेन-ट्रम्पको उमेर बहस

विश्वका करिब ३४ प्रतिशत नेताहरू ६० देखि ७० वर्षका बीचका छन् । करिब एक चौथाइ नेताको उमेर ५० वर्ष नाघेको छ । १९ प्रतिशत नेता ७० वर्षभन्दा माथि छन् भने १६ प्रतिशत नेता ४० देखि ५० वर्ष उमेरका छन् ।

नेपालभ्युज

उत्कर्षमा बाइडेन-ट्रम्पको उमेर बहस

काठमाडौं । यसपटक जो बाइडेन वा डोनाल्ड ट्रम्पले चुनाव जिते पनि अमेरिकी इतिहासकै सबैभन्दा वृद्ध राष्ट्रपति हुनेछन् ।

चार दशकअघि जब रोनाल्ड रेगन अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएका थिए, जतिबेला उनी ६९ वर्षका थिए । आफ्नो दोस्रो कार्यकाल पछि सेवानिवृत्त हुँदा ७७ वर्षको थिए । उनी नै यसअघि वृद्ध राष्ट्रपति मानिन्थे ।

अमेरिकी इतिहासमा बुढ्यौलीका बाबजुद काम गर्ने परम्परा छ । एक तथ्याङ्क अनुसार अमेरिकामा अहिले पनि ७५ वर्षभन्दा माथिका करिब २० लाख मानिस काम गरिरहेका छन् ।

सन् २०३२ सम्ममा यो सङ्ख्या बढेर ३३ लाख पुग्ने अनुमान गरिएको छ । अमेरिकाका शीर्ष ५०० कम्पनीमा कम्तीमा चार मुख्य कार्यकारी अधिकारीको उमेर अहिले राष्ट्रपति पदका दुवै उम्मेदवारको तुलनामा बढी छ ।

केही वर्षअघि न्युयोर्क टाइम्स र सीबीएसले पनि अमेरिकी मतदाताबीच एउटा सर्वेक्षण गरेको थियो, जसमा ५२ प्रतिशत मानिसले राष्ट्रपतिको उम्मेदवारको उमेर ५० वर्षभन्दा माथि हुन नहुने बताएका थिए ।

बाइडेन र ट्रम्पको स्वास्थ्यमाथि प्रश्न

बाइडेनलाई सीएनएनकी एङ्करले दोस्रो कार्यकालमा उनी ८५ वर्षको उमेरतिर बढिरहेको हुने प्रसङ्ग निकालेर प्रश्न सोधेकी थिइन् ।

जवाफमा बाइडेनले भने, ‘आधा राजनीतिक जीवनसम्म मलाई राजनीतिमा धेरै नै युवा रहेको भनेर आलोचना गरियो । अब तपाईं मेरो बुढ्यौलीलाई मुद्दा बनाइरहनु भएको छ ।’

ट्रम्पतिर इशारा गर्दै बाइडेनले भने, ‘उनी मभन्दा तीन वर्ष कान्छो छन् तर, मभन्दा कम योग्य छन् ।’ जब ट्रम्पसँग यस्तै प्रश्न गरियो, ट्रम्पको जवाफ थियो, ‘मेरो स्वास्थ्य बाइडेनको तुलनामा राम्रो छ । दुई-तीन दशक अघिको तुलनामा मेरो वजन निकै कम भइसकेको छ ।’

‘मैले हालै दुई क्लबस्तरीय गल्फ प्रतियोगिता जितेको छु । यस प्रकारको प्रतियोगिता उसैले जित्छ, जसले बललाई लामो दुरीसम्म प्रहार गर्न सकोस् । मेरो प्रतिद्वन्द्वी बाइडेनले बललाई ५० गजभन्दा टाढा पुर्‍याउन सक्दैनन्, यो मेरो चुनौती हो ।’ उनले थप भने ।

त्यसो त बाइडेनलाई प्रत्यक्ष रूपमा कुनै मेडिकल समस्या छैन । उनी धुम्रपान, मद्यपान गर्दैनन् । उनी दैनिक व्यायाम गर्छन् । तर, कहिलेकाहीँ उनी मानिसको नाम भुल्ने र शून्यतातिर हेरिरहने गरेको पाइन्छ ।

बिर्सिने बानी

गत वर्ष बाइडेनले एक भाषणका क्रममा ‘युक्रेनमा जारी युद्ध’लाई ‘इराकमा भइरहेको युद्ध’ भनेका थिए । एक चुनाव भाषणमा उनले हालै फ्रान्सका पूर्वराष्ट्रपति फ्रोन्स्वा मिटरानसँग भेट गरेको बताएका थिए । जबकि उनको निधन भएकै तीन दशक भइसक्यो । यद्यपि तत्कालै बाइडेनले आफ्नो गल्ती सुधार गरे ।

चुनावी बहसको एक दिनपछि जब उनले नर्थ क्यारोलाइनामा एउटा र्‍यालीलाई सम्बोधन गरे, उनको आवाज बुलन्द र आत्मविश्वासले भरिएको थियो । उनले भने, ‘म यो गर्न सक्दिनँ भन्ने विश्वास भएको भए म दोस्रो पटक चुनाव लड्दैनथिएँ ।’

तर, बाइडेन कहिलेकाहीँ यति विस्तारै बोल्छन् कि माइक्रोफोनमा उनको आवाज नै सुनिँदैन । वाक्यको बिचमा उनी रोकिन्छन् । उनको चुनाव प्रचार टीमले बुढ्यौली ढाकछोप गर्न उनी चढ्ने विमानको खुट्किला छोट्याएको छ । उनीसँगै एक सहयोगी हुने गर्दछ, जसले उनको सुस्त गतितिर मानिसको ध्यान जान नपाओस् ।

ट्रम्पका चिकित्सकले उनी पनि स्वस्थ्य रहेको बताएका छन् । तर, ट्रम्प जङ्क फुड खाने र सफ्ट ड्रिङ्क पिउने गरेको भेटिन्छन् । हालै ‘गेटी’ले खिचेको एउटा तस्वीरको खुब चर्चा भएको थियो, जसमा बुढ्यौली लुकाउन ट्रम्पले शृङ्गारको सहारा लिएको देखिन्थ्यो ।

ट्रम्पलाई पनि बिर्सने र मानिस नचिन्ने बानी छ । बाइडेनको चुनाव प्रचारमा ट्रम्पले निकी हेलीलाई अमेरिकी पूर्वसभामुख नान्सी पलोसी ठानेको विषय पनि चित्रण गरिएको थियो ।

सीआईए र एफबीआई जस्ता अमेरिकी एजेन्सीलाई राष्ट्रपति चुनावमा प्रतिस्पर्धा गरिरहेका यी दुई वृद्धका साथ देशको गोपनीय र संवेदनशील दस्तावेज सुम्पिन मिल्छ कि मिल्दैन भन्ने चिन्ता छ । किनकि गुप्तचर विभागका अधिकारीहरूलाई उनीहरूको मानसिक स्वास्थ्यमा कुनै प्रश्न नउठेको अवस्थामा मात्र त्यस्ता सूचनामा पहुँच हुन दिइन्छ । तर, राष्ट्रपतिको मामिलामा भने त्यस्तो कुनै प्रावधान छैन ।

विश्वका सर्वाधिक युवा र वृद्ध नेता

प्यू रिसर्च सेन्टरको एउटा तथ्याङ्क अनुसार संयुक्त राष्ट्रसंघका १८७ सदस्य राष्ट्रमध्ये यतिबेला बाइडेन नवौं वृद्ध नेता हुन् । बाइडेनको तुलनामा ट्रम्प तीन वर्ष कान्छो छन् तर, उनको गणना पनि विश्वका २० वृद्ध नेतामै पर्छ ।

यतिबेला विश्वका सबैभन्दा युवा नेता बुर्किना फासोका राष्ट्रप्रमुख इब्राहिम तराउरे हुन्, जो ३६ वर्षका छन् । उनी इक्वेडरका राष्ट्रपति डेनियल नोबोभा र मान्टेनिगरोका प्रधानमन्त्री मिलोहाओ स्पाहितभन्दा केही महिना कान्छो छन् । यी दुवै विश्व नेताले पनि ४० वर्ष भने काटेका छैनन् । ४० वर्ष मुनिकै दुई अन्य विश्वनेतामा आयरल्याण्डका साइमन हेरि र चिलीका राष्ट्रपति गेबरियल बोरिच छन् ।

विश्वको सर्वाधिक वृद्ध नेतामा क्यामरूनका राष्ट्रपति पल बिया छन् । उनी ९० वर्षभन्दा बढी उमेरका छन् । प्यालेस्टिन प्रशासनका प्रमुख महमुद अब्बासको उमेर ८८ वर्ष छ । उनी सन् २००५ देखि पदमा छन् । साउदी अरबका राजा सलमानको उमेर पनि ८८ वर्ष भइसक्यो । इरानका धार्मिक नेता खमेनी ८४ वर्षका भइसके ।

शेख हसिना महिलामध्ये सबैभन्दा जेठी

यसपछि बंगलादेशकी प्रधानमन्त्री शेख हसिना ७६, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ७३, रूसी राष्ट्रपति भ्लादिमिर पुटिन ७१, टर्कीका राष्ट्रपति एर्डोगान र चिनियाँ प्रधानमन्त्री सी जिनपिङ समान ७१ वर्षका छन् । अहिले विश्व नेताहरूको औसत उमेर ६२ वर्ष रहेको छ ।

विश्वका करिब ३४ प्रतिशत नेताहरू ६० देखि ७० वर्षका बीचका छन् । करिब एक चौथाइ नेताको उमेर ५० वर्ष नाघेको छ । १९ प्रतिशत नेता ७० वर्षभन्दा माथि छन् भने १६ प्रतिशत नेता ४० देखि ५० वर्ष उमेरका छन् ।

विश्वका तीन प्रतिशत नेताहरू मात्र ४० वर्षभन्दा कम उमेरका छन् । जहाँसम्म महिला नेताहरूको सवाल छ, डेनमार्ककी मेथु फ्रेडरिक्सन ४६ वर्षको उमेरमा विश्वकै कान्छी नेता हुन् ।

इस्टोनियाका प्रधानमन्त्री काया कलास उनीभन्दा अलि जेठी छन् ।

महाथिर मोहम्मददेखि मोरारजी देसाईसम्म

मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले दोस्रो पटक शपथ लिँदा उनको उमेर ९२ वर्ष १० महिना थियो । यसअघि उनी सन् १९८१ देखि २००३ सम्म प्रधानमन्त्री थिए ।

विश्वका अन्य जेष्ठ नेताहरूको निधन भएको हो भने सबैभन्दा पहिले नाम आउँछ जिम्बाब्वेका राष्ट्रपति रोबर्ट मुगाबेको, जसले ८४ वर्षको उमेरमा अन्तिम सास लिए र २८ वर्षसम्म सत्तामा रहे ।

इजिप्टका राष्ट्रपति होस्ने मोबारकले पनि यो पद ३० वर्षसम्म सम्हालेका थिए र सन् २०११ मा ८३ वर्षको उमेरमा आफ्नो पद त्यागेका थिए । क्युवाका राष्ट्रपति फिडेल क्यास्ट्रो सन् १९५९ देखि २००८ सम्म ४९ वर्ष सत्तामा थिए ।

सन् २००८ मा सेवानिवृत्त हुँदा उनी ८२ वर्षका थिए । भारतमा मोरारजी देसाई धेरै प्रयास पछि सन् १९७७ मा सत्तामा आए । त्यतिबेला उनी ८१ वर्षका थिए । नरसिम्हा राव जब भारतको प्रधानमन्त्री बने तब उनी ७० वर्षको भए र एक हिसाबले राजनीतिलाई अलविदा भनेका थिए । त्यो पद छोड्दा उनी ७५ वर्षको थिए ।

भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहले पनि प्रधानमन्त्री पदबाट राजीनामा नदिएसम्म ८१ को वसन्त हेर्ने नजिक थिए ।

बुढापाका उम्मेदवारले आफ्नो जिम्मेवारी पूरा गर्न झनै मिहिनेत गर्नुपर्छ भन्ने कुरा सत्य हो, तर विश्वमा यस्ता धेरै नेता छन् जसले बुढो भएर पनि आफ्नो नाम इतिहासमा लेखेका छन् ।

फ्रान्सका चार्ल्स डे गाउल, बेलायतका प्रधानमन्त्री विन्स्टन चर्चिल, जर्मनीका कोनराड एड्नोर र इजरायलका गोल्डा मेयरले ७० वर्षको उमेरमा आफ्नो देशको सफलतापूर्वक नेतृत्व गरेका थिए । इजरायलले सन् २००७ मा सिमोन पेरेजलाई आफ्नो राष्ट्रपतिमा निर्वाचित गर्दा उनी ८४ वर्षका थिए । बीबीसी हिन्दीबाट


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved