काठमाडौं । स्टार्टअप उद्यम कर्जाबापत उद्यमीलाई साढे तीन करोड रकम वितरण गरिएको छ ।
औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले सहुलियतपूर्ण कर्जा पाउन योग्य १८३ वटा व्यावसायिक परियोजनालाई उद्यम कर्जा वितरण सुरु गरेको हो ।
राष्ट्रिय वाणिज्य बैंकको तोकिएको शाखा कार्यालयबाट ७४ वटा उद्यम परियोजनालाई हालसम्म तीन करोड ७२ लाख ३५ हजार रुपैयाँ रकम वितरण गरिएको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले जनाएको छ ।
अन्य परियोजनालाई रकम वितरणकै प्रक्रियामा रहेको प्रतिष्ठानले जनाएको छ ।
स्टार्टअप उद्यम कर्जाबापत उद्यमीले न्यूनतम पाँचदेखि २० लाख रुपैयाँसम्म प्राप्त गरेका छन् । जुन रकम परियोजनाका उद्यमीले तीन प्रतिशत ब्याजमा सात वर्षसम्मका लागि चलाउन पाउनेछन् ।
औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले माघ १९ गतेदेखि फागुन १० गतेसम्म आवेदन माग गरेको थियो । त्यस व्रmममा एक हजार छ सयभन्दा बढी आवेदन परेको थियो ।
परेका आवेदनबाट परियोजना छनोट गर्नका लागि सरकारले ‘स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८०’ स्वीकृत गरेको थियो । सोही कार्यविधिबमोजिम १८३ वटा परियोजना सहुलियतपूर्ण कर्जाका लागि छानिएको बताइएको छ ।
सहुलियतपूर्ण कर्जा पाउने परियोजनाको सूचीमा कृषि, पशुपन्छी, डेरी, चिया, दुनाटपरीलगायतका उद्योग छन् । यस्तै हाते कागज बनाउने उद्योग, रोबोटिक्स एन्ड रिसर्च सेन्टरसहित फेसन, सूचना प्रविधिमा आधारित उद्योग छन् । यसै गरी थाङ्कासहित मेटल उद्योगसमेत रहेको प्रतिष्ठानले जनाएको छ ।
सहुलियतपूर्ण कर्जाका लागि काठमाडौँ उपत्यकासहित देशभरबाट छानिएका छन् । बैङ्कले कर्जा प्रवाह गर्दा बढीमा पाँच लाखसम्मको कर्जाका हकमा एक किस्ता, १५ लाखसम्मको कर्जा दुई किस्ता र त्यसभन्दा माथिको कर्जा तीन किस्तामा प्रवाह गर्ने जनाइएको छ ।
Facebook Comment
Comment