संसदीय छानबिन विशेष समितिले गर्‍यो गृहसचिवसँग छलफल

नेपालभ्युज

संसदीय छानबिन विशेष समितिले गर्‍यो गृहसचिवसँग छलफल
फाइल फोटो

काठमाडौं ।  सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले संसद्ले दिएको कार्यादेशअनुसार शुक्रबार गृहसचिव र छानबिनमा संलग्न नेपाल प्रहरीका उच्च अधिकारीहरुसँग छलफल गरेको छ । छलफलका क्रममा नेपाल प्रहरीले सहकारी ठगी प्रकरणमा मुछिएका दुई सय ९४ जनालाई पक्राउ गरेको जानकारी दिएको छ ।

यसैगरी आठ सय ५६ जना भने फरार रहेको प्रहरीको अभिलेखमा उल्लेख छ । छलफलका क्रममा प्रहरी अधिकारीहरुले वित्तीय अपराध अनुसन्धानका लागि प्रहरीमा छुट्टै ब्युरो आवश्यक पर्नेमा जोड दिएको समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले बैठकपछि सञ्चारकर्मीहरुलाई जानकारी दिए ।

समितिले सरोकार भएका निकायसँग कागजात मगाएर, ती निकायका अधिकारीको भनाइ सुन्ने, बुझ्ने गरी अध्ययन गरिरहेको सचिव बबिता मिश्रले जानकारी दिईन् । यही असार २३ गते समिति गठन भएको एक महिना पूरा हुँदैछ । त्यस अवसरमा यसबीचमा भएका उपलब्धि सार्वजनिक गर्ने तयारी गरिएको उनले बताए ।

समितिले बिहीबार महालेखापरीक्षक, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक, सहकारी विभागका रजिष्ट्रारलगायत निकायका कर्मचारीसँग सहकारी क्षेत्रमा देखा परेका समस्याका विषयमा छलफल गरेको थियो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको लामो विरोधपछि संसद्बाट एक महिनाअघि समस्या देखिएका सहकारीका विषयमा अध्ययन गर्न समिति गठन भएको थियो ।

समितिलाई समस्यामा परेका बचतकर्ताको रकमका बारेमा अध्ययन गरी सिफारिस गर्ने, बचत फिर्ताको अवस्था कहाँ पुगेको छ, त्यसको अध्ययन गर्ने, रकम हिनामिना भएको भनिएका सहकारीबाट गोरखा मिडिया नेटवर्कमा रकम पठाउँदा कानुन बमोजिम प्रक्रिया पूरा गरी भए, नभएको अध्ययन गर्नेलगायत जिम्मेवारी दिइएको छ । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved