काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले संक्रमणकालीन न्यायलाई टुंग्याउँदै राजनीतिक स्थायित्वको जगमा आर्थिक विकास र समृद्धि ल्याउन सके मात्रै शान्ति प्रक्रिया साँचो अर्थमा टुंगिने बताएका छन् ।
मंगलवार नेपाली कांग्रेसले आयोजना गरेको गिरिजाप्रसाद कोईरालाको १०० औं जन्म जयन्तीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले शान्ति प्रक्रियाका विभिन्न आयामहरुमध्ये गणतन्त्र स्थापना गर्ने, राज्यको पुनः संरचना गर्ने, माओवादी लडाकुहरुको व्यवस्थापन काम सम्पन्न भइसकेको बताए ।
अब संक्रमणकालीन न्याय टुंग्याउने कुरा बाँकी रहेकाले सबै राजनीतिक दलहरुको ध्यान सोही कुरामा केन्द्रित रहेको बताए । उनले हिंसा नहुनु मात्रै शान्ति नभएको भन्दै नागरिकहरुले न्यायको महशुस नगरेसम्म दिगो शान्ति हुन नसक्ने बताए ।
उनले भने, ‘हाम्रो शान्ति प्रक्रियाका विभिन्न आयामहरु थिए । संविधानले गणतन्त्र स्थापना गर्ने, राज्यको पुनः संरचना गर्ने, त्यो सम्पन्न गर्यौं । माओवादी लडाकुहरुको व्यवस्थापन त्यो पनि सकिएको छ । एउटा विषय बाँकी छ । पीडितलाई न्याय दिनेकुरा । संक्रमणकालीन न्याय टुंग्याउने कुरा त्यसमा हामी सबै लागिरहेका छौँ ।’
उनले सबैको ध्यान मुलुकको सामाजिक, आर्थिक रुपान्तरण, आर्थिक विकास, देशभित्रै रोजगारीको सुनिश्चिततातर्फ हुनुपर्ने बताए ।
Facebook Comment
Comment