काठमाडौं । भारतको अन्तरिक्ष संस्था इसरोले गरेको ‘रियुजएवल लञ्च भेहिकल’ (आरएलभी) को तेस्रो परीक्षण पनि सफल भएको छ ।
‘पुष्पक’ नाम दिइएको श्रृंखलाको तेस्रो र अन्तिम परीक्षण आइतबार कर्नाटकाको चित्रदूर्गमा सम्पन्न भएको हो ।
यो परीक्षणसँगै भारत ‘स्पेश सटल’ बनाउन सफलता हासिल गर्ने अमेरिकापछिको दोस्रो देश बनेको छ । सन् १९८१ मा पहिलो पटक अमेरिकी संस्था नासाले यो प्रविधि परीक्षण गरेको थियो ।
पुष्पक परीक्षणमा इन्डियन एयर फोर्सका चिनुक हेलिकप्टर प्रयोग गरिएका थिए । हेलिकप्टरले ४.५ किमी उचाईंमा पुष्पकलाई हावामा छोडिदिएका थिए । तिनले आधा घन्टामा जमिनमा स्वचालित र सफल अवतरण गरेका थिए ।
भारतले सन् २०१२ मा ‘स्पेश सटल’ योजना सुरु गरेको थियो । पुष्पकको पहिलो परीक्षण सन् २०२३ को अप्रिल २ मा गरिएको थियो । यसलाई आरएलवी लेक्स–१ नाम दिइएको थियो । दोस्रो परिक्षण आरएलवी लेक्स–२ यसै वर्ष मार्च २२ मा भएको थियो ।
यस प्रविधिको विमानलाई अन्तरिक्षमा पठाएर पुन: फिर्ता ल्याउन सकिन्छ। अन्तरिक्ष अभियान र स्वचालित युद्ध अभ्यासमा पुष्पकको विशेष योगदान हुने अपेक्षा गरिएको छ ।
इसरो प्रमुख एस. सोमनाथले पुष्पक परीक्षण सफलताका लागि संलग्न समूहलाई बधाई तथा धन्यवाद दिएका छन् । यसलाई इसरोको विशेष उपलब्धि मानिएको छ ।
Facebook Comment
Comment