काठमाडौंमा विश्व बैंकको हालसम्मकै ठूलो बैठक सकियो, नेपाललाई के फाइदा ?

नेपालभ्युज

काठमाडौंमा विश्व बैंकको हालसम्मकै ठूलो बैठक सकियो, नेपाललाई के फाइदा ?

काठमाडौं । काठमाडौंमा जारी विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए–२१) को तेस्रो परिपूरण बैठक सकिएको छ । मंगलबार प्रधानमन्त्री प्रचण्डले उद्घाटन गरेको उक्त बैठक शुक्रबार अर्थमन्त्री वर्षमान पुनले समापन गरेका हुन् ।

बैठक राजधानीस्थित होटेल सोल्टी प्लाजामा चार दिनसम्म चलेको थियो । विश्व बैंक समूहले नेपालमा आयोजना गरेको यो हालसम्मकै ठुलो कार्यक्रम हो । बैठकले न्यून आय भएका मुलुकका लागि आगामी वर्षहरूमा गर्ने सहयोगसम्बन्धी रणनीति तय गरेको छ ।

बैठकमा आगामी ३ वर्षका लागि गरिब र न्यून आय भएका मुलुकका लागि प्रदान गरिने सहुलियतपूर्ण ऋण तथा अनुदान सहायताका प्राथमिकता क्षेत्र, नीति ढाँचा, नतिजा खाका र सो को लागि आवश्यक वित्तीय स्रोतको प्रतिबद्धता व्यक्त गर्ने सम्बन्धमा दातृ पक्ष, सहायता प्राप्त गर्ने देशका प्रतिनिधि र विश्व बैकका उच्च पदस्थ पदाधिकारीहरूबीच गहन छलफल भएकोे छ ।

बैठकमा विश्वबैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोटसनवर्गसहित आधा दर्जन बढी उपाध्यक्ष र निर्देशकहरुले सहभागिता जनाएका थिए । यस्तै, ६१ देशका करिब २ सय भन्दा बढी प्रतिनिधि बैठकका लागि नेपाल आएका थिए ।

उपस्थित साझेदारहरूसँगको सहकार्यमा नेपालमा निर्माणाधीन विकास आयोजना, तिनीहरूका सकारात्मक पक्ष र चुनौतीबारे विश्व समुदाय अवगत गराउन तथा उक्त अनुभव संसारलाई बाँड्न बैठक महत्त्वपूर्ण भएको जनाएको छ ।

बैठकपछि विश्व बैंकमा उच्च अधिकारीहरूले काठमाडौं उपत्यका आसपास विश्व बैंकसहित विकास साझेदारका लगानीमा सञ्चालित शिक्षा, खानेपानी, पुननिर्माण, ऊर्जा, जलवायुलगायतका क्षेत्रसँग सम्बन्धित विभिन्न ९ आयोजनाको स्थलगत भ्रमण गर्नेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved