जेठमा मात्रै सरकारले लियो ४३ अर्ब रुपैयाँ ऋण, देशको कुल ऋण २४ खर्ब नाघ्यो

हरेक नेपालीको टाउकोमा ८० हजार रुपैयाँको भार

नेपालभ्युज

जेठमा मात्रै सरकारले लियो ४३ अर्ब रुपैयाँ ऋण, देशको कुल ऋण २४ खर्ब नाघ्यो

काठमाडौं । सरकारले जेठ महिनामा मात्रै करिब ४३ अर्ब रुपैयाँ सार्वजनिक ऋण लिएको छ । सरकारले अघिल्लो एक महिनामा ३४ अर्ब रुपैयाँ आन्तरिक ऋण र करिब ९ अर्ब रुपैयाँ बाह्य ऋण उठाएको हो ।

यो सँगै सरकारले चालु आर्थिक वर्षको ११ महिनामा कुल तीन खर्ब ७ अर्ब ६७ करोड रुपैयाँ सार्वजनिक ऋण लिएको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आवमा प्राप्त कुल ऋणमध्ये अधिकांश आन्तरिक ऋणकै हिस्सा रहेको छ । कार्यालयका अनुसार जेठसम्म सरकारले दुई खर्ब २५ अर्ब रुपियाँ आन्तरिक ऋण लिएको छ भने ८२ अर्ब ६७ करोड रुपियाँ बाह्य ऋण लिएको छ ।

चालु आवमा सरकारले कुल चार खर्ब ५२ अर्ब ७५ करोड रुपियाँ सार्वजनिक ऋण लिने लक्ष्य राखेको थियो ।

कुल लक्ष्यमध्ये जेठसम्ममा सरकारले करिब ६८ प्रतिशत ऋण लिएको कार्यालयले जनाएको छ ।

जेठसम्म आन्तरिक ऋणबापत दुई खर्ब २७ अर्ब १९ करोड रुपैयाँ साँवा र ब्याज भुक्तान गरेको छ ।

जसमध्ये एक खर्ब ६१ अर्ब ६२ करोड रुपैयाँ साँवा र ६५ अर्ब ५७ करोड रुपैयाँ ब्याज भुक्तान भएको हो । त्यस्तै बाह्य ऋण लिएबापत सरकारले ४३ अर्ब ९९ करोड रुपैयाँ साँवा र ब्याज भुक्तान भएको कार्यालयले जनाएको छ । जसमध्ये ३५ अर्ब ७० करोड रुपैयाँ साँवा र आठ अर्ब २९ करोड रुपियाँ ब्याज भुक्तान भएको छ ।

खर्च स्रोतका रूपमा राजस्वले अपुग हुन थालेपछि सरकारले ऋण लिने क्रम पछिल्ला वर्षमा बढ्दै गएको छ । अहिलेसम्म सरकारले तिर्नुपर्ने सार्वजनिक ऋणको दायित्व २४ खर्ब रुपियाँ नाघिसकेको छ ।

देशको कुल ऋणलाई भाग लगाउदा एक नेपालीको भागमा ८० हजार रुपैयाँ पर्न आउछ । यस हिसाबले हेर्दा हरेक नेपाली जन्मिदै ८० हजार ऋण लिएर आउनु परेको छ ।

जसमध्ये आन्तरिक ऋणको दायित्व ११ खर्ब ९२ अर्ब र बाह्य ऋणको दायित्व १२ खर्ब १७ अर्ब रुपियाँ रहेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved