अतिथिलाई काँक्रा उपहार, गलामा दुबोको माला

नेपालभ्युज

अतिथिलाई काँक्रा उपहार, गलामा दुबोको माला

गण्डकी । “घर व्यवहारै चल्छ, गर्न सके सुन फल्छ”, पोखरा महानगरपालिका–११ को काहुँडाडास्थित सर्वेश्वर आइपिएम कृषक पाठशालाको समापन समारोहमा स्थानीय आमाहरूले गाएको भजनको एक टुक्का हो यो ।

आमाहरूले भजन गाइरहँदा गलामा दुबोको मालासँगै पिपलको पातमा अतिथि लेखिएको ब्याचले सजिएका अतिथिहरूले अभिरुचीपूर्वक सुनिरहेका थिए । कार्यक्रममा खादाजन्य सामग्री प्रयोग गरिएको थिएन । अतिथिलाई उपहारमा काँक्रो प्रदान गरिएको थियो । खाजामा सेलरोटी र काँक्राको अचारसँग मोही थियो ।

पोखरा महानगरपालिकाको सहयोगमा काहुँको सिस्नेरीमा सञ्चालित १४ हप्ताको आइपिएम कृषक पाठशालाको अनुभव सहभागीले व्यवहारमा उतारिरहँदा कार्यक्रमको आकर्षण भिन्नै देखिन्थ्यो ।

कृषिप्रति अनिच्छाका कारण जग्गा बाँझो भइरहेका अवस्थामा पोखरा महानगरपालिका– ११ काहुँ डाँडाका स्थानीय भने आइपिएम कृषक पाठशालाका माध्यमबाट सामूहिक कृषिमा जोडिएका हुन् । पाठशालाबाट धेरै कुरामा सक्षमता हासिल गरेको सर्वेश्वर आइपिएम कृषक समूहका अध्यक्ष इन्द्रकुमारी आचार्यले बताईन् ।

समूहमा आवद्ध भई आइपिएम कृषक पाठशाला मार्फत आधा रोपनी क्षेत्रमा गरिएको काँक्रो खेतीबाट पाँच सय किलोभन्दा बढी बिक्री गर्न सफल भएको उनको अनुभव छ ।

कार्यक्रमकै क्रममा आमाहरूले कृषि सन्देशमूलक गीत तथा भजन गाउनुका साथै कृषि उत्पादनमा विषादीको प्रयोगले निम्त्याउने समस्यालाई जीवन्त चित्रण गरेको लघु नाटक प्रस्तुत गरे । विषादीको प्रयोगले समाजमा पार्ने नकारात्मक प्रभावबारे जानकारी गराउन नाटक प्रस्तुत गरिएको नाटक अभिनय दलका सदस्य ७५ वर्षीया सावित्री आचार्यको भनाइ छ ।

“हामी आइपिएम कृषक पाठशालाका माध्यमबाट धेरै विषयमा जानकार भएका छौँ यसले हामीलाई सामाजिक सक्षमता बढाएको छ”, उनले भने, “पाठशालामा सिकेका सिकाइलाई हामीले व्यावहारिक जीवनमा प्रयोग गर्नेछौँ ।”

पाठशालाको सिकाइसँगै बोल्ने बानीको विकासका कारण आफ्ना कुरा निर्धक्कका साथ राख्ने क्षमतामा वृद्धि भएको समूहका सदस्यहरू बताउँछन् । महानगरपालिकाको सहयोगमा आइपिएम कृषक पाठशाला सञ्चालन गरिएको हो । यहाँका २५ जना महिलाहरू एकीकृत शत्रुजीव व्यवस्थापन (आइपिएम) पाठशालामार्फत सामूहिक खेतीमा अध्ययन अनुसन्धानसँगै आयआर्जनमा जोडिएको कृषि महाशाखा प्रमुख मनहर कडरियाले बताए ।

किसानलाई प्राङ्गारिक विधिबाट खेती गर्न ज्ञानसीप उपलब्ध गराउने उद्देश्यले पाठशाला सञ्चालनका लागि सहयोग गरेको उनले जानकारी दिए । “यसका माध्यमबाट उहाँहरूमा धेरै ज्ञान सीप हासिल हुनुका साथै समाजमा आफ्ना कुरा राख्न सक्ने क्षमता वृद्धि भएको छ”, उनले भने, “प्राप्त सिकाई र अनुभवलाई गीत भजनका साथै नाटकका माध्यमबाट प्रस्तुत गर्न सक्नुुले सामाजिक सचेतना र क्षमता अभिवृद्धि भएको देखिन्छ ।”

कृषक पाठशालाबाट आफूहरूले कृषिका सम्बन्धमा धेरै विषयहरू जानकारी प्राप्त गरेको अर्का सदस्य सुभद्रा आचार्य बताउछिन् । पाठशालामा स्थानीय किसानलाई रासायनिक मल र विषादीको प्रयोगविना प्राङ्गारिक विधिबाट खेती गर्न सिकाइएको थियो ।

सिकाइलाई प्रभावकारी बनाउन गँड्यौला, खपटे, खुम्रे, पुतली र औँसा पाँच समूहमा विभाजित भई प्राविधिकसहित प्रयोगात्मक सिकाइ गरेका थिए । पाठशालाका लागि किसानले गत चैत १६ गते भक्तपुरे लोकल जातको काँक्राका बेर्ना रोपेका थिए ।

कार्यक्रमको समापनमा पोखरा महानगरपालिका–११ का वडाध्यक्ष प्रेमप्रसाद कर्माचार्य, वडा कृषि सञ्जालका संयोजक भीमप्रसाद आचार्य, वडा सदस्य विष्णुप्रसाद घिमिरेलगायतले पाठशालाका सिकाइ व्यावहारिक जीवनमा उपयोग गर्नुपर्नेमा जोड दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved