काठमाडौं। युक्रेनमा युद्धविरामका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गरेको प्रस्तावका बुँदालाई इटाली र जर्मनीका नेताले अस्वीकार गरेका छन्।
स्विटजरल्याण्डमा विभिन्न राष्ट्रका नेता तथा सरकारका प्रतिनिधि युक्रेनमा जारी द्धन्दको अन्त्य गर्न आयोजना गरिएको २–दिने सम्मेलनमा पुटिनको प्रस्तावलाई इटाली र जर्मनीले अस्वीकार गरेका हुन्।
इटालीका प्रधानमन्त्री जर्जिया मेलोनीले रुसका राष्ट्रपति पुटिनको युक्रेनलाई अलग्याउने सुझाव एक प्रोपगान्डा भएको बताइन । युक्रेनलाई आफ्नै भूभागबाट पछि हट्न भनेर गरिएको वार्ता प्रस्ताव उचित नभएको प्रधानमन्त्री मेलोनीको तर्क थियो ।
बेलायतका प्रधानमन्त्री ऋषी सुनकले रुसी राष्ट्रपतिले आफु वार्ता गर्न तयार भएको भन्ने भ्रम सृजना गर्न कथा बुनेको बताए । उनले रुसलाई हतियार प्रदान गर्ने राष्ट्रहरु इतिहासको गलत पक्षमा भएको टिपणी गरे।
जर्मन चान्सलर ओलाप स्कोल्जले सो प्रस्तावलाई तानाशाही शान्तिको रुपमा व्याख्या गरे । सम्मेलनमा घोषणा गरिएको मस्यौदामा युक्रेनको क्षेत्रीय अखण्डता पुनः पुष्टि गर्दै कुनै पनि आणविक खतराको विरोध गरिएको छ।
यता, बर्गनस्टकमा विभिन्न राष्ट्रले जनाएको सहभागितालाई युक्रेनले आफैँमा एक सफलताको रुपमा लिएको छ। कुटनीतिक प्रयासलाई पनि अवसर दिन र युद्धलाई संयुक्त प्रयासले रोक्न चाहेको युक्रेनका राष्ट्रपति भ्लादिमीर जेलेन्स्कीले बताए।
रुसले कब्जा गरेका ४ क्षेत्रबाट युक्रेनले आफ्नो सेना फर्काएमा युद्धविरामका लागि आफु तयार हुने शुक्रबार पुटिनले बताएका थिए । युक्रेनमा शान्ति स्थपना गर्न आवस्यक आधारभुत सिद्धान्तबारे छलफल गर्न बोलाइएको २–दिने सम्मेलनअगाडि नै पुटिनले आफ्ना माग अघि सारेका थिए।
९० भन्दा बढी राष्ट्र र विश्वव्यापी संस्थाको उपस्थिति रहेको यो सम्मेलन रुस- युक्रेन युद्ध सुरु भएपछिकै सबैभन्दा ठुलो हो।
यद्यपि, सम्मेलनमा रुसलाई भने बोलाइएको थिएन । रुसको सहयोगी मानिने चीनले सहभागिता जनाएन।
Facebook Comment
Comment