पाकिस्तानी एक उत्कृष्ट कमेडी फिल्म, हेर्नुहोस् युट्युबमा
नेपालभ्युज
काठमाडौं । कोरोना महामारीपछि जताततै आर्थिक संकट छ । तर, आर्थिक संकटभन्दा पहिले नै बनेको एउटा फिल्म जसलाई अहिले हेर्दा पनि निकै रमाईलो लाग्न सक्छ । आर्थिक संकटबाट पीडित हुनु ज्यादै दुखको कुरा हो तर, सिनेमा न हो, मनोेरन्जन छ ।
आजको शनिबार तपाईँ हल्काफुल्का र कमेडी फिल्म हेरेर मज्जा लिन चाहनुहुन्छ भने राम्रो विकल्प हो ‘ना मालूम अफराद’ ।
हास्य प्रधान फिल्म ‘ना मालूम अफराद’ को कुरा गर्दैछौँ यहाँ । फिल्ममा आर्थिक संकटबाट गुज्रेका तीन पात्रहरूको कथा छ । श्रीमती र बहिनीसँग बस्ने शकील अन्सारी (जावद शेख) को घरमा फरहान अहमद (फहाद मुस्तफा) र मून (मोहसिन अब्बास हैदर) पनि बस्छन् ।
शकील बीमा कम्पनीमा काम गर्छन् । तर, के गर्नु उनमा ग्राहक बनाउने कला फिटिक्कै छैन ।
शकीलसँग घर त छ तर, उसको घर सरकारले भत्काउने वाला छ । त्यसमाथि ऊ बहिनीको बिहेका लागि दाइजो र अन्य खर्च जुटाउने चिन्तामा छ । यस्तै यस्तै चिन्ताले ऊ मर्न भनेर रेलवे लिकमा समेत सुत्छ ।
उता मून भने घरका मान्छेलाई ‘दुबईमा छु’ भनेर झुट बोल्छ । तर, कराँचीमै अल्झेको छ ।
यी तीन पात्र जान–अन्जानमा पैसा जुटाउने क्रममा अनेक तिगडम लगाउँछन् ।
एकपछि अर्को असफल प्रयासका बीच बैंक जलाएर बीमा दाबी गर्ने निर्णयमा पुग्छन् ।
यो काम उनीहरूले कसरी गर्लान् ? उनीहरूका पछिपछि प्रहरी र अपराधी लागिरहेको हुन्छन् । उनीहरू जोगिएलान् ? कि थप अप्ठ्यारोमा पर्लान् ? यही कहानीबीच शकीलकी बहिनी र फरहानको प्रेम अनि मून र बैंककी कर्मचारीबीचको प्रेम प्रसंग पनि जोडिएको छ ।
यी सबै घटना थाहा पाउन फिल्म नै हेर्नु रमाइलो हुनेछ ।
व्यावसायिक रूपमा निकै सफल मानिएको यो फिल्मको सिक्वेल ‘ना मालूम अफराद–२’ पनि बनेको छ ।
त्यो पनि युट्युबमा हेर्न पाइन्छ । सन् २०१७ मा रिलिज ‘ना मालूम अफराद–२’ सो वर्षकै सर्वाधिक कमाउने दोस्रो फिल्म बनेको थियो । ‘ना मालूम अफराद’ले भने ठीकैको ब्यापार गरेको बक्स अफिसमा रेकर्ड छ ।
Facebook Comment
Comment