हेटौंडा । देशभित्रको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरण तथा विस्तारका लागि मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभर्याङमा ४०० केभी हेटौंडा सबस्टेसनको उद्घाटन गरिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुक्रबार नेपालको तेस्रो ठुलो ४००/२२०/१३२/११ केभी हेटौंडा सबस्टेसन उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नेपालभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको करिब ४० मेगावाट विद्युत् बंगलादेशतर्फ निर्यात गर्न अब छिट्टै तीन मुलुकका विद्युत् व्यापारमा सङ्लग्न निकायहरूबीच त्रिपक्षीय सम्झौता हुने र त्यसपछि नेपालको विद्युत् बंगलादेश निर्यात सुरु हुने बताए ।
बंगलादेश विद्युत् निर्यात सुरु हुने दिने दिन नेपालको ऊर्जा विकास र विद्युत् बजार विस्तारका लागि थप महत्त्वपूर्ण हुने उल्लेख गरे ।
उनले भने, ‘केही दिनअघि समकक्षी नरेन्द्र मोदीजीको शपथ ग्रहण कार्यक्रममा जाँदा भएको भेटमा विगतमा गरिएका द्विपक्षीय सम्झौताहरूलाई अझै सशक्त रूपमा कार्यान्वयन गर्ने, सीमा समस्या, पञ्जेश्वर जलविद्युत आयोजनाको कार्यान्वयन, व्यापार तथा पारवहनलगायतका विषयमा महत्त्वपूर्ण छलफल गरेको छु, यसबाट दुई मुलुकबीचको दीर्घकालीन विद्युत् व्यापार सम्झौता कार्यान्वयनमा महत्त्वपूर्ण उपलब्धि हासिल हुने विश्वास लिएको छु ।’
उनले देशभित्र खपत गर्न नचाहेर भारततर्फ विद्युत् निर्यात गरिरहेको नबुझ्न सबैलाई आग्रह गरे । देशभित्र खपत बढाउन अझै पनि पूर्वाधार अभाव रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले पूर्वाधार सुधार तथा विस्तार गर्ने र खपत गरी बढी बचत भएको विद्युत् निर्यात आवश्यक रहेको बताए ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विगत ७÷८ वर्षको तुलनामा अहिले विद्युत् उत्पादन, प्रसारण र वितरणको क्षेत्रमा गुणात्मक फड्को मारिएको बताए ।
उनले जग्गा प्राप्ति ऐनमा अध्यादेशमार्फत गरिएको संशोधनले प्रसारण लाइनको निर्माणमा जग्गा प्राप्तिको समस्यालाई झनै जटिल बनाएको उल्लेख गर्दै उक्त संशोधन गरिएको व्यवस्थालाई संसदबाट कानुन बनाउँदा विशेष ध्यान दिन अनुरोध गरे ।
Facebook Comment
Comment