विराटनगर । मोरङको रंगेली नगरपालिकाका नगर प्रहरीमाथि आक्रमण गर्ने समूहलाई छाड्न माग गर्दै विद्यार्थीको एउटा समूहले विराटनगरमा सरकारी गाडी जलाएका छन् । विद्यार्थीको समूहले नेपाल विद्युत् प्राधिकरणका पाँच वटा गाडी पनि तोडफोड पनि गरेका छन् ।
आइतबार बिहान नेपाल विद्यार्थी संघको नेतृत्वमा प्रदर्शन भएको हो । प्रदर्शनकारीले प्रदेश योजना आयोगको को १ झ ६४४ नम्बरको गाडी जलाएका हुन् । अहिले भने प्रदर्शन मत्थर भएको प्रशासनले जनाएको छ ।
बिहीबार नेपाल विद्यार्थी संघको एउटा समूहले रंगेली नगरपालिकाका कार्यवाहक मेयर एवम् रंगेली–८ का वडाध्यक्ष ढकप्रसाद आचार्य कालोमोदो दल्न गएका थिए ।
प्रमुख प्रशासकीय अधिकृत ओमकारप्रसाद न्यौपानेमाथि समेत दुर्व्यवहार गरेका थिए । घटनामा नगर प्रहरी रोक्न आएपछि उनीहरूमाथि कुटपिट गरेका थिए ।
घटनामा संलग्न भएका ६ जना नेविसंघका विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउको विरोधमा नेविसंघको अगुवाइमा महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरका विद्यार्थीले आइतबार बिहान प्रदर्शन गरेका प्रहरीले जनाएको छ ।
कलेज अगाडि गुडिरहेको प्रदेश योजना आयोगको गाडीमा ढुंगामुढा गरेर जलाएका हुन् ।
घटनामा संलग्न रंगेली–६ का २३ वर्षीय दीपक यादव, २० वर्षीय राहुल यादव, रुकुम यादव, रंगेली–७ का १८ वर्षीय रमणकुमार राय, रंगेली–८ का १९ वर्षीय विषेक झा र रंगेली–२ का मिलन मिश्रलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।
पक्राउ परेकाहरूको समूहले आक्रमण गर्दा ४ जना नगर प्रहरी घाइते भएका छन् । नगर प्रहरीहरू सुनिता पौडेल, प्रमोद पासवान, पदमबहादुर थापा र ज्योति घिमिरे सामान्य घाइते छन् । नगर प्रहरीहरूको शरीरका विभिन्न भागमा चोटपटक लागेको र रंगेली अस्पतालमै उपचार भइरहेको छ ।
Facebook Comment
Comment