राजनीति र माफिया गठबन्धनको नतिजा कस्तो हुन्छ ? हेर्नुहोस् युट्युबमा ‘लुसिफर’
नेपालभ्युज
काठमाडौं । राजनीतिक नेताहरू सत्तासम्म पुग्न ठेकदार र व्यापारीहरूसँग गला जोड्छन्, उनीहरूको पैसा प्रयोग गर्छन् । तर, यसको मूल्य सिङ्गो देशले चुकाउनु पर्छ । यही कथा समेटिएको एक फिल्म छ, ‘लुसिफर’ ।
आज शनिबार हामीले पहिल्यै बक्सअफिसमा धूम मच्चाइसकेको दक्षिण भारतीय फिल्म तपाईँलाई सिफारिस गरेका छौँ । फुर्सद भए हेरेर मनोरञ्जन लिन सक्नुहुने छ ।
नाम सुनेर झुक्किनुहोला, किनकि नेटफ्लिक्सको अंग्रेजी वेबसिरिज पनि लुसिफर छ । तर, यहाँ चर्चा गर्न लागिएको भने भारतमा ५ वर्षअघि सबभन्दा धेरै कमाउने मलयालम फिल्म, ‘लुसिफर’को ।
फिल्मको कथा काल्पनिक भए पनि हरेक नेपालजस्तो कम विकसित देशहरूको राजनीतिक यथार्थ यही हो । नेपालकै सन्दर्भमा भन्दा यहाँ राजनीतिक नेताहरू सत्तासम्म पुग्न ठेकदार र व्यापारीहरूसँग गला जोड्छन्, उनीहरूको पैसा प्रयोग गर्छन् जसको मूल्य सिङ्गो देशले चुकाउनु पर्छ ।
आउनुहोस्, फिल्मबारे केही जानकारी लिऔँ । जहाँ चर्चित अभिनेता मोहनलाल छन् । यो उनकै फिल्म हो । दक्षिण भारतीय फिल्म हेर्नुहुन्छ भने मोहनलाललाई नचिन्ने कमै हुनुहुन्छ । अजय देवगनको ‘दृश्यम’ हेर्नुभएको छ भने थाहा पाइराख्नुहोस्, यो मोहनलालकै मलयालम भाषामा बनेको ‘दृश्यम’ को रिमेक हो ।
तमिल, तेलेगु, हिन्दी, मलयालम फिल्ममा जमेका मोहनलालको ‘लुसिफर’ सन् २०१९ मा रिलिज भएको हो । फिल्ममा मोहनलालसँगै विवेक ओवराय, मन्जु वारियर र टोभिनो थोमसको मुख्य भूमिका छ । फिल्मले विभिन्न विधामा गरेर १८ वटाभन्दा बढी अवार्ड जितेको छ ।
करिब ३० करोड भारूमा बनेको यसले अहिलेसम्म १ सय ८० करोड भारूभन्दा बढी कमाइसकेको छ । मलयालम फिल्मको इतिहासमा यो सबभन्दा धेरै कमाइ हो ।
राजनीतिको कुर्सीमा हुने खिचातानीमा माफियाहरूले कसरी खेल्न पाउँछन् भन्ने कुरा यसमा देखाइएको छ । त्यस्तै राजनीतिज्ञहरूले आफ्नो हातमा सत्ता पार्न अन्तर्राष्ट्रिय गिरोह र उनीहरूको पैसा कसरी प्रयोग गर्छन् भन्ने पनि यसको कथा हो ।
पैसा, शक्ति र सत्ताका लागि माफिया–राजनीतिको गठबन्धनले देशलाई नकारात्मक प्रभाव पार्छ। यो फिल्मले यही गठबन्धनबाट सिर्जना हुने राजनीतिक द्वन्द्व चित्रण गरेको छ ।
Facebook Comment
Comment