काठमाडौं । भारतमा हालै सम्पन्न लोकसभा चुनावको मतगणना आजदेखि सुरु हुँदैछ । ५ सय ४३ लोकसभा सिटमध्ये ५ सय ४२ सिटको मतगणना बिहान ८ बजेदेखि शुरु हुने त्यहाँको निर्वाचन आयोगले जनाएको छ ।
गुजरातको सूरत लोकसभा सिटबाट भाजपाका मुकेश दलाल यसअघि नै निर्विरोध निर्वाचित भएकाले ५ सय ४२ स्थानको मात्र गणना हुने भएको हो । डेढ महिना लगाएर भारतमा आम निर्वाचन सम्पन्न भएको थियो ।
आयोगका अनुसार सुरुमा हुलाक मतपत्रको मतगणना हुनेछ । त्यसपछि इभिएम अर्थात इलेक्ट्रोनिक भोटिङ मेसिनमा खसेको मत गणना गरिनेछ ।
कुनै पनि केन्द्रमा मतपत्र नभएको खण्डमा सिधै इभिएमबाट मतगणना शुरु हुनेछ । प्रमुख निर्वाचन आयुक्त राजीव कुमारले अप्रिल १९ देखि जुन १ सम्म सात चरणमा भएको मतदानमा देशका ९६ दशमलव ८ करोड दर्ता भएका मतदातामध्ये ६४ दशमलव २ करोड मतदाताले आफ्नो मताधिकार प्रयोग गरेको बताए ।
मत परिणाम आउने क्रम जारी भएसँगै अबको केही घण्टामा नयाँ सरकार कसको बन्ने अनुमान गर्न सकिने विश्लेषण गरिएको छ ।
लोक सभा निर्वाचनमा भाजपा नेतृत्वको एनडीए गठबन्धन र कांग्रेस नेतृत्वको इन्डिया गठबन्धन मुख्य प्रतिस्पर्धामा छन् ।
निर्वाचन सकिएलगत्तै सार्वजनिक भएका मत सर्वेक्षणमा यसपटक पनि भाजपाको एनडीए गठबन्धनले बहुमत हासिल गर्ने देखिएको छ । मत सर्वेक्षणअनुसारकै नतिजा निस्किएमा नरेन्द्र मोदी तेस्रो कार्यकाल प्रधानमन्त्री बन्ने छन् ।
१७ औं लोकसभाको समयावधी आगामी जुन १६ मा पुरा हुदैछ ।


Facebook Comment
Comment