काठमाडौं । सूचना प्रविधि क्षेत्र विस्तारका लागि नेपाली राजदूतावास, याङ्गुनले “नेपाल र म्यानमारबीच व्यापार सम्बन्ध: सफ्टवेयर व्यवसाय प्रवर्द्धन” कार्यक्रमको आयोजना गरेको छ ।
याङ्गुनले नेपालको उदीयमान सूचना प्रविधि क्षेत्र, सफ्टवेयरको विकास र डिजिटल सेवा नेपालबाट म्यानमार निर्यात गर्नका लागि सम्भावित क्षेत्र पहिचान गरी नेपाल र म्यानमारका आइटी सेक्टरका सरोकारवालाहरूबीच सम्बन्ध स्थापना गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरेको हो ।
एक दिने उक्त कार्यक्रमको पहिलो भाग (बिहान १० बजेदेखि १२ बजेसम्म) मा म्यानमारका लागि नेपाली राजदूत, याङ्गुन क्षेत्रका मुख्यमन्त्री, म्यानमार फेडेरेसन अफ कमर्स एन्ड इन्डस्ट्री संघका अध्यक्षको मन्तव्य समावेश गरिएको थियो ।
म्यानमारका केन्द्रीय बैंकका उप–गभर्नर, म्यानमार डिजिटल इकोनोमी एसोसिएसन (एमडीईए) द्वारा म्यानमारको डिजिटल सेवाहरू र सूचना प्रविधिबारे प्रस्तुतीकरण रहेको थियो ।
कार्यक्रममा फिनटेक अलायन्स नेपालका प्रतिनिधिद्वारा नेपालको सूचना प्रविधि क्षेत्रमा हालमा भएको विकासबारे प्रकाश पार्दै, नेपाली आइटी कम्पनीहरूले उपलब्ध गराउँदै आएका विभिन्न सेवाहरूको संक्षिप्त विवरण तथा कार्यक्रममा सहभागी नेपाली आइटी कम्पनीहरूको संक्षिप्त परिचय तथा उक्त कम्पनीहरूले प्रदान गर्ने सेवाहरूको विवरण प्रस्तुत गरिएको थियो ।
कार्यक्रमको दोस्रो भाग दिउँसो (१२ः३०–४ः३० बजेसम्म) मा सहभागी आइटी कम्पनीहरूले आफ्नो स्टल/बुथहरूमा आफ्नो उत्पादन र सेवाहरूको प्रदर्शन तथा बुथ भ्रमण गर्ने व्यक्तिहरूसँगको अन्तरक्रिया समावेश थियो ।
म्यानमारका लागि नेपालका राजदूत हरिश्चन्द्र घिमिरेले नेपालको आइटी उत्पादन र सेवाको परिपक्वताको प्रशंसा गर्दै उनले नेपालको बैंकिङ र फिनटेक क्षेत्रहरू आन्तरिक रूपमा विकसित तथा पूर्ण रूपमा भरपर्दो रहेको उल्लेख गरेका थिए ।
उक्त कार्यक्रममा म्यानमारको केन्द्रीय बैंक, म्यानमार बैंक एसोसिएसन, यूएमएफसीसीआई, म्यानमार महिला उद्यमी नेटवर्क, म्यानमार डिजिटल इकोनोमी एसोसिएसन, निजी बैंकहरुका प्रतिनिधिहरू, माइक्रो फाइनान्स संस्थाहरू, इन्स्योरेन्स र रेमिट्यान्स कम्पनीका पदाधिकारीहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा विभिन्न संघसंस्थाका दुई सय जनाको सहभागिता रहेको थियो ।
Facebook Comment
Comment