कान्तिपुर सहकारीबाट सुरू भएको सीबीको ‘ठगी साम्राज्य’, ‘पशुपतिमा’मा पुगेर यसरी ढल्यो !

नेपालभ्युज

कान्तिपुर सहकारीबाट सुरू भएको सीबीको ‘ठगी साम्राज्य’, ‘पशुपतिमा’मा पुगेर यसरी ढल्यो !

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका चन्द्रबहादुर लामा (सीबी) ले आफूमाथि वास्तविकताभन्दा बढी पैसा हिनामिना गरेर अनर्गल प्रचार गरिएको जिकिर गरेका छन् ।

दुई सहकारीको झन्डै ८ अर्ब रुपैयाँ अपचलन गरेको आरोप लागेका उनले ठूलो बिगो देखाएर झुटो प्रचार गरिएको दाबी गरेका छन् । पक्राउ परेको २ दिनपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई सार्वजनिक गर्ने क्रममा थोरै रकम मात्र अपचलन गरेको दाबी गरे ।

कान्तिपुर सहकारीको ६ अर्ब र पशुपतिको २ अर्ब अपचलन गरेको आरोपमा जाहेरी परेको छ । काभ्रेका लामा नेपाली कांग्रेस महासमिति सदस्य हुन् । पत्रकारमाझ उनले बारम्बार अनुहार देखाउनुपरे मास्क खोलिदिन तयार भएको बताए ।

करिब डेढ अर्ब रुपैयाँ ठगी गरेको कान्तिपुर सहकारीको पूर्वअध्यक्षका रूपमा लामा पक्राउ परेका हुन् । उनी २०५६ देखि २०७६ सम्म उक्त सहकारीको अध्यक्ष रहेको प्रहरीको भनाइ छ । त्यसबीचमा उनी पशुपति सहकारीको पनि अध्यक्ष थिए ।

लामा २०४९ सालमा मिडियामा आवद्ध थिए । २०५५ पछि कान्तिपुर सहकारीमा लागेका हुन् । सरकारले दुईवटा सहकारीको अध्यक्ष एकै व्यक्ति हुन नपाउने व्यवस्था गरेपछि २०७६ सालमा उनले कान्तिपुरको अध्यक्ष छाडेका थिए ।

२०६९ मा कान्तिपुर अस्पतालको अध्यक्ष बनेका थिए । पछि नर्सिङकलेज खोलेको थिए । यसबीचमा उनी कान्तिपुर अस्पताल र कान्तिपुर हेल्थ साइन्स कलेजका पनि अध्यक्ष रहेका थिए ।

कान्तिपुर सहकारीमा आठ सय ५२ जनाको जनाको एक अर्बभन्दा बढी रकम डुबेको छ ।

लामालाई यसअघि नै चारवटा बैकिङ कसुर मुद्दा थियो । उनी हेटौँडाबाट पक्राउ परेका हुन् । उनको साथमा सामसुङको २ वटा, नोकिया १ वटा र एसी कम्पनीको मोबाइल १ वटा बरामद भएको थियो । २ थान अरू सीम बरामद भएको प्रहरीले बताएको छ ।

कान्तिपुर सहकारी ठगी प्रकरणमा वर्तमान अध्यक्ष हिमालयविक्रम मल्ल हाल पुर्पक्षका लागि थुनामा छन् । कान्तिपुर सहकारी ठगी प्रकरणमा अझै १० जना फरार छन् ।

बचतकर्ताको रकम निजी कम्पनीमा लगानी

कान्तिपुर सहकारीका तत्कालीन अध्यक्ष सीबी लामा तथा सञ्चालकहरूले बचतकर्ता र सेयर सदस्यको साढे ६ अर्ब दुरुपयोग गरी व्यक्तिगत नाममा घरजग्गा, निजी कम्पनी र रिसोर्टमा लगानी गरेका थिए ।

कुनै समय करिब १४ हजार बचत खाता खोलिएको कान्तिपुर सहकारीमा अहिले पनि करिब ७ हजार बचतकर्ताको ६ अर्ब १३ करोड बचत छ । सहकारीको सेयर पुँजी करिब ४० करोड छ । काठमाडौंको धेरै बचतकर्ता छन् । कान्तिपुर सहकारीले शाखा तथा सेवा केन्द्र गरी १८ ठाउँमा सेवा विस्तार गरेको थियो ।

सहकारीले ६ अर्ब २२ करोड ऋण लगानी गरेको विवरण सहकारी विभागमा बुझाएको छ । यो ऋणको ठुलो हिस्सा सहकारीका तत्कालीन अध्यक्ष सीबी लामा, वर्तमान अध्यक्ष हिमालय विक्रम मल्ल ठकुरी, प्रबन्ध सञ्चालक प्रेमध्वज तामाङ, सञ्चालकहरू जोगलाल लामा, सानुकान्छा लामा, नारायणप्रसाद रिमाल, ईन्दु थापा र देवराज पराजुली लगायतले मनोमानी ढङ्गले घरजग्गा, क्रसर उद्योग, निजी अस्पतालदेखि कलेजमा खन्याएको पाइएको हो ।

२०५३ सालमा खुलेको कान्तिपुर सहकारीमा २४ वर्षसम्म सीबी अध्यक्ष थिए । उनले सञ्चालकहरूसँग मिलेर बचतकर्ताको ठुलो रकम घरजग्गा र आफूहरूले खोलेको निजी कम्पनीहरूमा लगाए । काभ्रेको धुलिखेल र पनौती, भक्तपुर साँगा, काठमाडौं फर्पिङ, मकवानपुर चित्लाङ, मोरङ कानेपोखरी, खोटाङ हलेसी लगायत स्थानमा ४ सय रोपनीभन्दा बढी जग्गा किनिएको विवरण सहकारी विभागमा बुझाइएको छ ।

काठमाडौं फर्पिङमा २२ रोपनी, बुढानीलकण्ठमा २ रोपनी बढी, थली–डाँछीमा १ रोपनी ११ आना, चपली भद्रकालीमा १ रोपनी १२ आना २ पैसा (घर समेत), टेकुमा २२ आना, नयाँपाटीमा ११ आना २ पैसा, लाजिम्पाटमा २ आना २ पैसा, नयाँबानेश्वरमा ४ आना २ पैसा, बौद्धमा ५ आना २ पैसा, साँखुमा ३ आना जग्गा छ ।

सहकारी सञ्चालकहरूले काभ्रे भुम्लु गाउँपालिकामा ७ सय रोपनीभन्दा बढी जग्गा किनेका छन् । काभ्रेकै पनौतीमा १२६ रोपनी जग्गा छ ।

काभ्रेकै मण्डन देउपुर १२ मा ३ रोपनी ५ आना बढी जग्गा छ । मंगलटारको सुप्रिम स्टोन सहकारी सञ्चालक प्रेमध्वज लामाको नाममा छ । भक्तपुरको साँगामा २८ रोपनी १२ आना छन् ।

गुन्डुमा ७ आना बढी, धादिङको धुनीबेंसीमा २ रोपनी, तनहुँमा १६ रोपनी र खोटाङको हलेसीमा १८ रोपनी जग्गा छ । सहकारीमा आबद्ध ५ जना सहित ६ जनाको नाममा हलेसीको जग्गामा जाम्बला रिसोर्ट प्रालि सञ्चालनमा छ । मोरङको झोडाहाटमा ९ कट्ठा, बखरीमा १० धुर, सर्लाहीको हरिवनमा ५ कट्ठा १० धुर, चितवनमा २० कट्ठा र हेटौँडामा ११ कट्ठा जग्गा छ । सहकारी सञ्चालकहरूको नाममा थुप्रै स्थानमा किनिएको जग्गाको विवरण अझै लुकाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved