काठमाडौं । भारतको सिक्किम राज्यमा भएको विधानसभा चुनावमा सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) ले विशाल जित हासिल गरेको छ ।
पूर्वमुख्यमन्त्री पवनकुमार चाम्लिङको सिक्किम डेमोक्रेटिक फन्ट (एसडीएफ) राज्यबाट बढारिएको छ । एसकेएमले सिक्किम विधानसभाका ३२ मध्ये एउटाबाहेक सबै सिट जितेको छ ।
पूर्वमुख्यमन्त्री चाम्लिङसमेत चुनावमा दुई क्षेत्रबाट पराजित भएका छन् । उनी पोक्लोक-कामराङ क्षेत्रमा एसकेएमका भोजराज राई तथा नाम्चेबुङ क्षेत्रमा राजु बस्नेतसँग फराकिलो मतान्तरले पराजित भएका छन् ।
सिक्किम विधानसभामा एसकेएमको यो लगातार दोस्रो जित हो । वर्तमान मुख्यमन्त्री प्रेमसिंह तामाङ (पीएस गोले) ले रेनोक र सोरेङ-चाकुङ दुवै क्षेत्रबाट चुनाव जितेका छन् ।
अघिल्लो पटक चाम्लिङ एसडीएफका एक्ला सांसद थिए । एसपटक उक्त दलबाट शायरी क्षेत्रबाट तेन्जिङ नोर्बुले जितेका छन् । बाँकी सबै क्षेत्रमा एसकेएमले जित हासिल गरेको छ ।
सन् २०१९ को चुनावमा एसकेएमले १७ र एसडीएफले १५ सिट जितेको थिए । तर, चुनाव जितेको केही दिनमा एसडीएफका १० सांसद भाजपा प्रवेश गरेका थिए । उपनिर्वाचन भएका २ क्षेत्र समेत उसले गुमाएको थियो ।
पवन चाम्लिङको पार्टीबाट १० सांसद भित्र्याएर दोस्रो ठूलो दल बनेको भाजपा पनि यो चुनावमा बढारिएको छ ।
चाम्लिङ सन् १९९४ देखि २०१९ सम्म सिक्किममा लगातार २५ वर्ष मुख्यमन्त्री बनेका थिए । भारतमै सबैभन्दा लामो समय मुख्यमन्त्री बन्ने कीर्तिमान पनि चाम्लिङकै नाममा छ ।
सन् २०१४ मा तामाङले गठन गरेको एसकेएम पार्टीले सन २०१९ को चुनावमा चाम्लिङलाई विस्थापित गरेको थियो । यसपटक भने राज्यबाटै बढारेको छ ।
अप्रिल १९ मा भएको विधानसभा चुनावको मतगणना आइतबार आएको हो । भारतमा भएको लोकसभा चुनावको गणना भने पर्सि मंगलबार हुँदैछ ।
Facebook Comment
Comment