‘लाइभ दोहोरी’मा बढेको फोहोरी : द्विअर्थी शब्द र उटपट्याङ शीर्षक

लाइभ दोहोरीको नाममा पछिल्लो समय छाडापन बढेको छ । कतिपय अग्रणी कलाकार समेत यस्तो कार्यमा संलग्न छन् । पटकपटक ध्यानाकर्षण गराउँदा पनि नरोकिएपछि दोहोरी गीत प्रतिष्ठान गृहमन्त्रालयमा पुगेको छ । 

नेपालभ्युज

‘लाइभ दोहोरी’मा बढेको फोहोरी :  द्विअर्थी शब्द र उटपट्याङ शीर्षक

काठमाडौं । लाइभ दोहोरीबाट चर्चामा आएकी गायिका हुन्, बबिता बनियाँ जेरी । हिजोआज हरेक दिनजसो उनको व्यस्तता लाइभ दोहोरी गाउनमै देखिन्छ । साँझ ठमेलस्थित आफ्नै रोधीघरमा गाउने उनी दिउँसो लाइभ दोहोरीमा व्यस्त हुन्छिन् ।

लाइभ दोहोरीबाटै चर्चामा आएका गायक हुन्, बालकुमार बराल । आफ्नै युट्युब च्यानलमा गीत गाएर अपलोड गर्छन् । अमेरिकामा लामो समय बसेर फर्किएकी गायिका हुन्, शीला आले ।

झन्डै २५ वर्षअघि ‘हिउँचुलीमा हिउँ गीत चर्चामा थियो । प्रेमराजा महतसँग गीत गाएर चर्चामा आएकी उनै शीला आलेलाई नयाँ पुस्ताले चिनेका थिएनन्, पुराना पुस्ताले पनि भुलिसकेका थिए । पछिल्लो समय उनी हरेक दिनजसो लाइभ दोहोरीमै व्यस्त रहने गरेकी छन् । उनी युट्युबमा चर्चामा छन् ।

धादिङकी कमला घिमिरे लाइभ दोहोरीबाटै उदाएकी कलाकार हुन् । पाँच वर्षअघि यस क्षेत्रमा लागेकी उनी अहिले ठुली भइसकिन् । उनी पनि लाइभ दोहोरी कलाकारमा चर्चितमध्ये एक हुन् । उनीसहित केही बालगायक–गायिकाले समेत लाइभ दोहोरीबाट लोभलाग्दो ख्याति कमाएका छन् ।

टीका सानु, रविन लामिछाने, कल्पना दाहाल, मानसिंह खड्का, प्रकाश पराजुली, बबिता बानियाँ (जेरी), सुमन थापा, श्याम राना, भीम पौडेल, आशा बीसी लाइभ दोहोरीमा चल्तीका नाम हुन् । रेसम निर्दोष, चीज गुरुङ, अस्मिता डल्लाकोटी, सुशीला लामा, डिला विक, तारा थापा लगायत लाइभ दोहोरीबाट चिनिएका गायक–गायिका हुन् ।

उनीहरु मात्र होइन, धेरै पुराना र चलेका कलाकारको समेत ख्याति छ लाइभ दोहोरीमा । युट्युब र फेसबुकमा भ्युज बढाएर आम्दानी गर्ने उद्देश्यले चलेका कलाकार पनि यसमा सामेल छन् । राजु परियार, बद्री पङ्गेनी, राधिका हमाल, रमिला न्यौपाने, सम्झना भण्डारीलगायतका कलाकार समेत लाइभ दोहोरीमा बेलाबेला देखिन्छन् ।

यसरी अहिले मूलधारका थुप्रै लोकदोहोरी गायक–गायिका समेत लाइभ दोहोरीमा आकर्षित छन् । लाइभ दोहोरीमा पूर्ण रुपमा निर्भर हुने गायक–गायिका नै एक सयभन्दा बढी देखिन्छन् ।

ती हेर्ने दर्शकको सङ्ख्या पनि उल्लेख्य हुने गरेको छ । थुप्रै लाइभ दोहोरी युट्युब ट्रेन्डिङमा समेत आइरहन्छन् । पछिल्लो समय विवादमा आएका कृष्ण कँडेलले सञ्चालन गर्दै आएको दोहोरीसँग सम्बन्धित ‘इन्द्रेणी’ कार्यक्रम त झनै लोकप्रिय छ ।

कोरोना महामारीमा भएको लकडाउनयता युट्युबमा आउने लाइभ दोहोरीको सङ्ख्या अत्यधिक बढेको छ ।

दोहोरी-फोहोरी, द्विअर्थी शब्द र उटपट्याङ शीर्षक

लाइभ दोहोरीको नाममा पछिल्लो समय छाडापन बढ्दै गएको छ । कतिपय अग्रणी कलाकार समेत यस्तो कार्यमा संलग्न रहेको पाइएको छ ।

‘लाइभ दोहोरी’ युट्युब सञ्चालन गर्नेहरूले चलेका गायक–गायिकालाई बोलाउँछन्, पारिश्रमिक दिएर । यसले उनीहरूलाई आम्दानी मिल्ने गरेको छ। त्यसबाहेक लाइभ दोहोरी सञ्चालन गर्नेले युट्युब र फेसबुकबाट पैसा कमाउँछन् ।

जति धेरै हेरिन्छन्, त्यति धेरै पैसा आउँछ । डिजिटल प्लेटर्फममा भ्युजका आधारमा पैसा आउने भएकाले लाइभ दोहोरी चलाउनेले मानिसलाई आकर्षण गर्न छाडा शब्द र उटपट्याङ शीर्षक र थमलेन राख्ने गरेका छन् ।

यसकारण पछिल्लो समय जसरी लाइभ दोहोरीको माहोल बढिरहेको छ, त्यसरी नै विकृति समेत बढ्दै गएको राष्ट्रिय लोक दोहोरी प्रतिष्ठानका पदाधिकारी बताउँछन् ।

केही ‘लाइभ दोहोरी’ सभ्य भाषामा भए पनि कतिपय ‘छाडा’ र दीअर्थी तथा ‘अश्लील शब्द’ समेटिएका भेटिन्छन् । लाइभ दोहोरीको शीर्षक समेत उटपट्याङ राख्ने गरिएको छ । यतिसम्मकी नयाँ ल्याइएका बाल कलाकारलाई  मायाप्रेम, हनिमुनका कुरा गीतमा भन्न लगाइएको छ ।

‘खुल्दुली दोहोरी घर अफिसियल च्यानल’, ‘सुशीला लामा’, ‘मानसिंह खड्का’, ‘बालचन्द्र बराल’ लगायत नामको युट्युब च्यानलमा सार्वजनिकमध्ये थुप्रै लाइभ दोहोरीमा द्विअर्थी शब्द समावेश गरिएका छन् । जुन लाइभ दोहोरी परिवारसहित बसेर हेर्न र सुन्न सकिँदैन ।

प्रतिष्ठान पुग्यो गृहमन्त्रालय गुहार्न

लाइभ दोहोरीमा विकृति झाँगिएपछि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गृहमन्त्रालय गुहार्न पुगेको छ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानका अध्यक्ष रिता थापालगायत पदाधिकारीले बिहीबार गृहमन्त्री रवि लामिछानेलाई भेटेर उच्छृङ्खल गतिविधि नियन्त्रण गराउन ध्यानाकर्षण गराएका छन् । लोक संस्कृतिको मूल मर्म र भावना विपरीत कार्य बढेको भन्दै सरकारको ध्यानाकर्षण गराएको अध्यक्ष थापा बताउँछिन् ।

उनी भन्छिन्, ‘‘लाइभ दोहोरीमा देखिएका नराम्रा पक्षलाई न्यूनीकरण गर्नेबारे पहल गर्न हामीले गृहमन्त्रीको ध्यानाकर्षण गराएका हौँ । अनलाइनमा भेटिने छाडा दोहोरी निरुत्साहित गर्न र मेला महोत्सवमा समेत यस्ता अराजक प्रस्तुति रोक्न माग गरेका छौँ ।’’

लोकदोहोरीको नाममा भ्युअर्सलाई लक्षित गरेर हुने उत्ताउलो र उच्छृखल नियन्त्रण गर्न आफूले पहल गर्ने गृहमन्त्री लामिछानेले प्रतिबद्धता जनाएका छन् ।

कलाकारको भेटमा उनले भने, ‘‘लाइभ दोहोरीमा जुन विकृति देखिएको छ, त्यसमा स्रष्टाहरू स्वयम् सचेत हुनुपर्छ । मेला महोत्सवमा पनि रोकिनुपर्छ । जुन आयोजक र कलाकारको स्वयम्को अनुशासनमा भर पर्छ । मर्यादित कार्यक्रम गर्न सरोकारवालाको ध्यानाकर्षण गराउँदछु ।’’

चर्चित लोक तथा दोहोरी कलाकार बद्री पङ्गेनी पनि पछिल्लो समय लाइभ दोहोरीमा अश्लीलता बढ्दै गएकोले सरकारको ध्यानाकर्षण गराउन गएको बताउँछन् । उनी भन्छन्, ‘‘सस्तो चर्चाको लागि लाइभ दोहोरीमा अपाच्य, उच्छृङ्खल शब्दहरूको प्रयोग बढ्यो । न्यूनीकरण हुन्छ कि भनेर गृहमन्त्रीको ध्यानाकर्षण गराउन गएका हौँ ।’’

लाइभ दोहोरी’मा उच्छृङ्खलता बढ्दै गएपछि नियन्त्रणको पहल गर्न गृहमन्त्रीको ध्यानाकर्षण गराउँदै लोक दोहोरी प्रतिष्ठानकी अध्यक्ष रिता थापा र लोक गायक बद्री पङ्गेनी गृहमन्त्री रवि लामिछानेसँग

उच्छृङ्खल कलाकारमाथि ‘कारबाही अभियान’

लाइभ दोहोरीमा उच्छृङ्खल र समाजमा अपाच्य शब्द प्रयोग हुन थालेपछि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले कारबाही थालेको छ । लोक संस्कृतिको मूल मर्म र भावना विपरीत कार्य गरेको भन्दै केन्द्रीय सदस्य एवं गायक बालचन्द्र बराललाई ६ महिनाको लागि संस्थाबाट निलम्बन गरेको छ ।

लाइभ दोहोरीका नाममा बराल अमर्यादित ढङ्गले प्रस्तुत भएको प्रतिष्ठानको भनाइ छ । निलम्बन हुने ६ महिनाको अवधिमा बरालले प्रतिष्ठानसँग सम्बन्धित जिल्ला, प्रदेश, केन्द्रसहितका सम्पूर्ण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गतिविधिमा सहभागी हुन पाउने छैनन् ।

लोक संस्कृतिको मूल मर्म र भावना विपरीत कार्य गरेको भन्दै बिहीबार बसेको कार्यसमिति बैठकले बराललाई निलम्बन गरेको अध्यक्ष रिता थापा मगरले बताइन् ।

‘‘उहाँको गायन प्रस्तुतिमा समाजमा अपाच्य हुने गतिविधि देखियो । दोहोरीलाई बङ्ग्याएर र मूल संस्कृति नै बिगार्ने गरी उहाँ प्रस्तुत भएको देखियो,’ अध्यक्ष थापाले भनिन्, ‘‘यसबारे उहाँलाई स्पष्टीकरण सोधेका थियौँ । बोलाउँदा पनि सम्पर्कमा आउनुभएन । स्पष्टीकरणको बेवास्ता गरेपछि यस्तो निर्णय गर्नुपरेको हो ।’’

अघिल्लो साल अश्लील गीत गाएर सामाजिक सद्भाव बिगारेको आरोप लागेका १३ जना लाइभ दोहोरी कलाकारले राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानसँग माफी मागेका थिए ।

प्रत्यक्ष दोहोरीको नाममा छाडा गीत गाएको व्यापक जनगुनासो आएपछि प्रतिष्ठानले पत्र काट्दै २० जना कलाकारलाई कार्यालयमा बोलाएको थियो । तीमध्ये १३ जनाले मात्र उपस्थित भएर स्पष्टीकरण दिँदै गल्ती नदोहोर्‍याउने बताएका थिए ।

उपस्थित सबै जनाले आइन्दा लाइभ दोहोरीमा छाडा शब्द नगाउने भन्दै प्रतिबद्धता जनाएका थिए । पछि पनि विकृति विसङ्गति रोकिएको छैन । तर, सबै लाइभ दोहोरी सञ्चालक र कलाकार राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानसँग आबद्ध छैनन् ।

उनीहरूको कार्यक्रममा छाडा गीत दोहोरी प्रसारण भइरहेको छ । आफ्ना सदस्यलाई प्रतिष्ठानले सचेत गराउँदै स्पष्टीकरण सोधे पनि केही सामु प्रतिष्ठान निरीह देखिएको आरोप छ ।

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानका पूर्व अध्यक्षसमेत रहेका लोकगायक दुर्गा रायमाझी पनि लाइभ दोहोरीमा भ्युज बढाउने नाममा अश्लीलता भित्रिएको बताउँछन् ।

उनी भन्छन्, ‘‘पछिल्लो समय लाइभ दोहोरीको नाममा विकृति भित्रिएको छ । सिनियर मानिएका लोकदोहोरी कलाकारहरू समेत त्यसमा सामेल छन् । मर्यादा ख्याल गरेर आफैँ सभ्य रुपमा प्रस्तुत भए हुन्थ्यो ।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved